स्वीस राजदूत मोन्टेलोनेले भने-नेपालको शान्ति प्रक्रिया सराहनीय

रासस

विहीबार, ३१ साउन २०८१, १३ : ०६
स्वीस राजदूत मोन्टेलोनेले भने-नेपालको शान्ति प्रक्रिया सराहनीय

काठमाडौँ । नेपालका लागि स्वीट्जरल्याण्डकी राजदूत डानियल मेउल्ली मोन्टेलोनेले नेपालको शान्ति प्रक्रिया, संविधान लेखन तथा कार्यान्वयन सराहनीय रहेको बताएकी छन् ।

बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेटवार्तामा उनले यस्तो धारणा राखेकी हुन् । भेटमा स्वीस राजदूत मोन्टेलोनेले दुई देशबीचको ६ दशक भन्दा लामो कूटनीतिक सम्बन्ध दरिलो र सद्भावपूर्ण रहेको बताएकी छन् । लामोसाँघु जिरी सडक, अरनिको राजमार्ग निर्माण तथा स्तरोन्नति जस्ता कार्य दुई देशबीचको सम्बन्धको कोशेढुंगाको रूपमा रहेको उनले बताइन् ।

नेपालको बदलिएको परिवेश र आवश्यकताका आधारमा आफ्नो देशले नेपाललाई गर्ने सहयोग र सहकार्यको स्वरूप फेर्दै लगेको भन्दै उनले निर्माण कार्यमा प्रत्यक्ष सहयोग मात्र नभई सुरुङ निर्माण तथा अन्य प्राविधिक क्षेत्रमा सीप तथा ज्ञान हस्तान्तरणका लागि तयार रहेको उल्लेख गरिन् ।

भेटका क्रममा मन्त्री दाहालले थोरै जनसङ्ख्या भए पनि स्वीटजरल्याण्डले विकास तथा प्रविधिका क्षेत्रमा गरेको प्रगति उदाहरणीय रहेको बताए । नेपालको भौतिक पूर्वाधार तथा सामाजिक क्षेत्रमा गरेको योगदानप्रति आधार व्यक्त गर्दै मन्त्री दाहालले नेपालको शान्ति प्रक्रिया, कोभिड महामारी, भूकम्प जस्ता विशेष अवस्थामा पुर्‍याएको योगदानको स्मरण गरे ।

नेपालको शान्ति प्रक्रियाका लागि महत्त्वपूर्ण मानिएको टीआरसी विधेयकमा दलहरूबीच सहमति भइसकेको जनाउँदै मन्त्री दाहालले यसले नेपालको शान्ति प्रक्रियामा टुङ्गोमा पुर्‍याउने र नेपालको विकास र समृद्धिको गति लिने बताए ।

प्रतिक्रिया दिनुहोस