नीति पालना नगर्ने सदस्यलाई सभाबाटै निकाला गर्नुपर्छ : सदस्य गौतम

सफल खबर संवाददाता

बुधबार, ३० साउन २०८१, १४ : ०७
नीति पालना नगर्ने सदस्यलाई सभाबाटै निकाला गर्नुपर्छ : सदस्य गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सदस्यहरुले नीति पालना नगरे सभाबाटै विदा गर्नेगरि नीति ल्याउनुपर्ने बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सदाचार नीति’ जारी गर्नेबारे सरोकारवालाहरुसँगको छलफलमा उनले  मुलुकमा सुशासन कायम गर्न प्रतिनिधि, राष्ट्रिय सभा र प्रदेश सभाहरुमा समेत नीति कार्यान्वयन नगरे पदबाट विदा हुनेगरि नीति ल्याउनुपर्ने बताए ।

सभ्य र सुसंस्कृत समाज निर्माणका लागि सदाचार नीति अपरिहार्य रहेको उनको भनाइ छ ।उनले भने, ‘राष्ट्रिय सभाका सदस्यहरुको सदाचार नीति के हुन्छ ? यदि त्यो पालना गरेको छैन भने राष्ट्रिय सभाबाट विदा हुनुपर्दछ ।

प्रतिनिधि सभा, प्रदेश सभा लगायत कुन ठाउँमा त्यस्तो छ त्यही हुनुपर्दछ । हामी सुशासन कायम गर्न चाहान्छौं । हामी हाम्रो संस्कृतिलाई उन्नत बनाउने र सभ्य बनाउन चाहान्छौं भने त्यसका लागि कँहि न कँहिबाट जोडबल दिन आवश्यक छ ।

सभ्य र सुसंस्कृत नेपाली जनताको लागि हामीले सदाचार नीति आवश्यक छ यसमा गहन छलफल हुनुपर्दछ ।’समाज, विद्यार्थी, सुरक्षा लगायतका क्षेत्रहरु तोकेर सदाचार नीति बनाउनुपर्ने उल्लेख गर्दै उनले यसका लागि विज्ञहरुसँग छलफल गर्नुपर्ने बताए । 

उनले भने, ‘आचरण र आचारसहिंता व्यक्तिले लागु गर्ने हो । संस्थालाई पनि व्यक्ति मानेर गराउनुपर्छ । यो संस्थाले पालना गर्नुपर्ने भनेर व्यक्तिलाई जसरी भन्न सकिन्छ । सधैंभरि हामी यसबारे छलफल गर्ने तर नहुने हो भने राष्ट्रिय सभाले केही विज्ञहरुलाई अगाडि सारेर सदाचार नीति नै बनाउनुपर्छ । परिवार, विद्यार्थी, सेना प्रहरी र कर्मचारीहरुको लागि जस्तै क्षेत्रहरु तोकेर सदाचार नीति लागु गर्नुपर्दछ ।’ 

प्रतिक्रिया दिनुहोस