गणेशस्थानलाई धामको रुपमा विकास गर्न महायज्ञ गरिने

शनिबार, २० असोज २०७५, १९ : ००
गणेशस्थानलाई धामको रुपमा विकास गर्न महायज्ञ गरिने

चितवन । भरतपुर महानगरपालिका–११ मा रहेको एतिहासिक तथा धार्मिक क्षेत्र गणेशस्थानलाई धामको रुपमा विकास गरिने भएको छ । धाम निर्माण गर्न मन्दिर परिसरमा श्रीमद्भागवत महापुराण एवम् धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्न लागिएको छ । महायज्ञका लागि विभिन्न समिति र उपसमिति निर्माणका लागि आज (शनिबार) भेला गरिएको छ । भेलाले गणेशस्थान मन्दिर संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेको संयोजकत्वमा १ हजार १ सदस्यीय महायज्ञ आयोजक मुल समारोह समिति गठन गर्ने निर्णय गरेको छ । मुल समारोह समिति र विभिन्न उपसमितिहरुलाई पूर्णता दिन सांसद विजय सुवेदी लगायतको १३ सदस्यीय छनोट समिति समेत गठन गरिएको छ । महायज्ञ सम्पन्न गर्न एक हजार १ सदस्सिय मुल समारोह समिति र करिब ४० वटा उपसमितिहरु निर्माण हुनेछन् ।

गणेशस्थान मन्दिर क्षेत्रलाई गणेश धामको रुपमा विकास गर्न आर्थिक संकलनका लागि मंसिर २२ देखि २९ गतेसम्म महायज्ञ गर्न लागिएको समितिका अध्यक्ष दिनेशकुमार चुकेले जानकारी दिए । महायज्ञमा पण्डित दिनबन्दु पोखरेल प्रमुख बाचकका रुपमा रहने उनले बताए । प्रदेश नं. ३ का सांसद विजय सुवेदीको सक्रियतामा गणेशस्थान धाम निर्माण गर्न लागिएको चुकेले बताए । धार्मिक एवम् ऐतिहासिक महत्व बोकेको गणेशस्थान मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने उनको भनाइ छ ।

महायज्ञबाट १० करोड रुपैंयाँ बढी आर्थिक संकलन गर्ने लक्ष्य राखिएको छ । महायज्ञ आयोजनाका लागि शनिबार भएको सरोकारवालाहरुको छलफल तथा अन्तरक्रिया कार्यक्रममा सांसद विजय सुवेदीले मन्दिरका पुराना संरचनालाई यथावत राख्दै धार्मिक पर्यटकीय क्षेत्र बनाइने बताए । पुंगी खोलाको पानीबाट २२ बिघा भन्दा ठूलो तलाउ बनाएर जल क्रिडा गर्न सकिने उनले बताए । त्यस्तै जंगल क्षेत्रमा शान्त पार्क, जनावरहरुको दृश्यावलोकन, पुस्तकालयलगायतका विभिन्न संरचना निर्माण गरिने सुवेदीले जानकारी दिए । आगामी तीन बर्षभित्र गणेशस्थान धाम निर्माण सम्पन्न गर्ने गरी काम थालिने उनको भनाइ छ । गणेशस्थान धामको गुरुयोजना बनाउन विज्ञ राजन सुवालसहितको टोलीले धमाधम काम गरिरहेको छ ।

भेलामा सांसद पार्वती सिलवाल, वडा नम्वर ११ का वडाध्यक्ष बाबुराम अधिकारी, वडा नम्वर १२ का वडाध्यक्ष नरेन्द्र कन्दङवा, वडा नम्वर २ वडाध्यक्ष पूर्ण वहादुर श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस