राहुल गान्धीले बौद्धमा एउटी युवतीलाई सुटुक्क भेटेको खुलासा

सफल खबर संवाददाता

शनिबार, २० असोज २०७५, १७ : २८
राहुल गान्धीले बौद्धमा एउटी युवतीलाई सुटुक्क भेटेको खुलासा

काठमाडौं । एक महिनाअघि सुटुक्क नेपाल आएका राहुल गान्धीले बौद्धमा एउटी युवतीलाई सुटुक्कै भेटेको खुलासा भएको छ । भारतको प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष गान्धी चीनमा पर्ने मानसरोवर जाने क्रममा गत भदौ १५ गते काठमाडौं आएका थिए ।

नेपाल सरकार र काठमाडौंस्थित भारतीय दूतावासलाई राहुलको काठमाडौं आगमनबारे औपचारिक जानकारी नभएपनि राहुलको सुरक्षाका लागि नेपाल प्रहरीले डिएसपीको कमाण्डमा एक जना प्रहरी निरीक्षकसहित पाँच जनाको सुरक्षा टोली खटाएको थियो। राहुल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेदेखि एयर चाइनाबाट चीन नउडेसम्मको सुरक्षा यही टोलीले दिएको थियो।

विमानस्थलबाट लाजिम्पाटस्थित होटल र्‍याडिसन पुगेपछि सुरक्षामा खटिएका काठमाडौं प्रहरी मातहतका डिएसपीले राहुलका लागि मिलाइएको सुरक्षा व्यवस्थाबारे ब्रिफिङ गरेका थिए। राहुलले बोकेको रोमिङ सुविधासहितको भारतीय मोबाइल नम्बरमा ती डिएसपीलाई जोडिएको थियो। ती डिएसपीलाई राहुलले काडमाडौंमा रहँदाको आफ्नो सेड्युल जानकारी गराएका थिए।

राहुल आफ्ना २ जना सहयोगीका साथ १५ भदौमा जेट एयरको उडानबाट दिल्लीबाट काठमाडौं आइपुगेका थिए। राहुलको आगमनको खबर प्रधानमन्त्री तथा मन्त्रीपरिषदले पाएको थियो। राहुलको इच्छा अनुसार तिब्बतको कैलाश मानसरोवर पुग्ने व्यवस्था मिलाउन नेपालमा रहेका उनका हितैषीले सहयोग गरेका थिए। नेपालहुँदै तिब्बतको कैलाश मानसरोवर जाने योजना बनाएका राहुल आफ्ना २ सहयोगीसाथ विमानस्थलबाट सोझै लाजिम्पाटस्थित र्‍याडिसन होटल पुगे । केही घण्टा होटलमा बिताएपछि राहुल साँझपख घुम्नका लागि होटलबाट निस्किए। काठमाडौं घुम्नका लागि उनले सामान्य ट्याक्सी प्रयोग गरे। ट्याक्सी नै प्रयोग गरेर मध्यरातसम्म काठमाडौं र ललितपुरका विभिन्न स्थानमा उनी पुगे। रेष्टुरेन्टमा खाना खाए ।

बौद्धमा अचानक युवतीसँग भेट 
राहुल आफ्ना सहयोगीका साथमा राजधानीको उत्तरतिर रहेको बौद्धस्थित बौद्धनाथ स्तुपा पुगे। सुरक्षामा खटिएका चार सुरक्षाकर्मीले उनलाई चार दिशाबाट सुरक्षा दिइरहेका थिए। सुरक्षाकर्मीको उपस्थितिका कारण त्यहाँ कुनै भिभिआइपीको उपस्थिति छ भन्ने भेउ कसैले नपाउन् भनेर ती सुरक्षाकर्मी केही पर रहन्थे।

जब राहुल बौद्धनाथ स्तुपा पुगे, त्यही बेला एकजना युवती एकाएक राहुल नजिक पुगिन्। राहुल गोप्य रुपमा बौद्धनाथ स्तुपा पुगेका थिए। तर, उनको पहिचान गरेर ती युवती उनको नजिक पुगेपछि प्रहरी टोली सतर्क बन्यो। र, तत्काल आफ्ना कमाण्डरलाई यसबारे जानकारी गरायो। राहुलतर्फ अघि बढ्दै गरेकी ती युवतीलाई रोक्न नजिकै रहेका सुरक्षाकर्मीले नखोजेका होइनन्। तर, सुरक्षाकर्मीहरु त्यतिबेला पछि हटे, जब ती युवतीलाई राहुल आफैंले बौद्धनाथ स्तुपा परिसरभित्र स्वागत गरे। 

ती युवती को थिइन् ? तत्काल प्रहरीले चिनेन । राहुलले पनि ती युवतीसँग आफ्नो भेट हुने जानकारी नेपाली सुरक्षाकर्मीलाई गराएका थिएनन्। समाचार स्रोतका अनुसार, राहुलले बौद्धनाथ स्तुपाभित्र भेटेकी ती युवती पत्रकार सुम्निमा उदास थिइन्। अमेरिकी समाचार संस्था सीएनएनमा आवद्ध भएर दिल्लीमा कार्यरत सुम्निमा बर्माका लागि नेपाली राजदूत भीम उदासकी छोरी हुन्। 

सुम्निमासँग भेटघाट र स्तुपाको अवलोकनपछि राहुल त्यहाँबाट निस्किए। त्यहाँबाट राहुल निस्कँदा सुम्निमा उनको साथमा भने थिइनन्। दिल्लीमै सुम्निमा राहुलबीच मित्रता बढेको चर्चा हुने गरेको छ। खिलराज रेग्मी मन्त्री परिषदको अध्यक्ष हुँदा उदासलाई भारतका लागि नेपाली राजदूत बनाइन लागेको चर्चा पनि चलेको थियो।

सुटुक्क विमानस्थलतिर
राहुल गान्धी भदौ १६ गते बिहान एयर चाइनाको उडानबाट ल्हासा जाने सूचना बाहिरिएपछि होटल र्‍याडिसन बाहिर र विमानस्थलमा सञ्चारकर्मी भेला भएका थिए। तर, उनीहरुले राहुललाई भेट्न सकेनन्। ल्हासा प्रस्थान गर्न लागेका राहुललाई र्‍याडिसन होटल र विमानस्थलमा पनि सञ्चारकर्मीहरुले भेट्न नसक्नुको पनि कारण थियो।

‘सञ्चारकर्मीहरुको उपस्थितिका कारण होटल अगाडिको गेटबाट निकाल्न अप्ठेरो हुने भएपछि पछाडि ढोकाबाट राहुललाई एउटा निजी भ्यानमा राखेर विमानस्थल र विमानस्थलमा पनि सामान्य कक्ष भएर विमानसम्म पुर्‍याइए को थियो ।

प्रतिक्रिया दिनुहोस