घाँस दाउरा बेचेर भएको आम्दानी विद्यालयलाई

शनिबार, २० असोज २०७५, १४ : ४५
घाँस दाउरा बेचेर भएको आम्दानी विद्यालयलाई

म्याग्दी । बेनी नगरपालिका–३ भकिम्लीमा रहेको मुसुङ्डोले आधारभूत विद्यालयलाई स्थानीय सामुदायिक वन समूहले आर्थिक सहयोग गरेका छन् । विद्यालयको ५५ औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित समारोहमा मुुसुङ डोलेमा रहेका तीन सामुदायिक वन उपभोक्ता समूहले दुई लाख २५ हजार सहयोग गरेका हुन् । जङ्गलको घाँस दाउरा र काठ बेचेर भएको आम्दानीबाट विद्यालयलाई सहयोग गरेका व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर थापाले बताउनुभयो ।

मुसुङ डोलेखानी सामुदायिक वन उपभोक्ता समूहले रु एक लाख ५० हजार, लुसेपानी रानीदास सामुदायिक वनले रु २५ हजार र बराहताल वन समूहले रु ५० हजार सहयोग गरेका अध्यक्ष थापाले जानकारी दिनुभयो ।

यसैगरी डोले सिर्जना आमा समूहले रु एक लाख, आफ्ना दिवङ्गत बुबा यामबहादुर श्रीसको स्मृतिमा उहाँका छोरा दलबहादुरले रु ३१ हजार ५०५, जय श्रीसले रु २० हजार, बिलबहादुर पुनको स्मृतिमा श्रीमती मनदेवी पुनले रु १० हजार ५०० सहयोग गर्नु भएको छ ।

सहयोग रकम विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकको तलबमा परिचालन गरिने प्रध्यानाध्यपक शेरबहादुर विकले बताउनुभयो । कक्षा ८ सम्मको पठनपाठन हुने १६५ जना विद्यार्थी रहेका सो विद्यालयमा पाँचजना दरबन्दी र पाँचजना निजी स्रोतका शिक्षक छन् ।

समारोहमा सङ्घीय सांसद भूपेन्द्र थापा र गण्डकी प्रदेश सांसद विनोद केसीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा जोड दिँदै दरबन्दी व्यवस्थापनका विषयमा नीतिगत रुपमा पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा भवन निर्माणका लागि दुई रोपनी जग्गा उपलब्ध गराउनु भएका हर्कबहादुर थापामगरलाई सम्मान गरिएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस