‘आमा बंगलादेश फर्कनुहुन्छ’ : हसिनाका छोरा

एजेन्सी

शनिबार, २६ साउन २०८१, ०९ : ४७
‘आमा बंगलादेश फर्कनुहुन्छ’ : हसिनाका छोरा

ढाका । बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिना चुनाव घोषणा भएपछि स्वदेश फर्कने उनको छोरा सजिब वाजेद जोयले बताएका छन् । यस हप्ताको सुरुमा भएको ठुलो प्रदर्शनपछि राजीनामा दिएर देश छाडेर भागेकी हसिना हाल भारतमा छिन्।

बंगलादेशी मिडियाले हसिनाविरुद्धको प्रदर्शनमा ५०० जना भन्दा बढी मानिस मारिएको बताएका छन्। तीमध्ये धेरैलाई प्रहरीले गोली हानेको थियो ।

सन् १९७१ मा बंगलादेशको स्वतन्त्रता संग्रामपछिको सबैभन्दा खराब हिंसामा हजारौँ घाइते भएका छन् ।‘निश्चय नै, उहाँ (बंगलादेशमा) आउनुहुनेछ,’ वाजेदले बीबीसीलाई भने । अन्तरिम सरकारले चुनाव गराउने निर्णय गरेपछि हसिना बंगलादेश फर्कने उनको भनाई थियो ।

नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा रहेको सेना समर्थित अन्तरिम सरकारले १६ जना सल्लाहकारसहित बिहीबार शपथ ग्रहण गरेको थियो । विद्यार्थी आन्दोलनका दुई नेता पनि सल्लाहकार छन् ।

वाजेद एक सूचना प्रविधि विशेषज्ञ हुन्, जो अहिले अमेरिकामा बस्छन्। सन् २००९ देखि २०२४ सम्म प्रधानमन्त्रीको कार्यकालमा हसिनाका लागि उनले आईटी सल्लाहकारको रूपमा काम गरेका थिए ।

‘उहाँ पक्कै पनि फर्कनुहुन्छ,’ उनले भने, ‘उहाँ राजनीतिमा फर्कने वा नआउने, त्यो निर्णय भने भइसकेको छैन। आफूलाई गरिएको  व्यवहारबाट भने उहाँ दिक्क हुनुभएको छ ।’

गत महिना निजामती सेवाको जागिरमा आरक्षणको विरोधमा विद्यार्थी नेतृत्वको आन्दोलन सुरु भएको थियो । आन्दोलनमा प्रहरीको क्रूर दमनपछि हसिनालाई हटाउन ठूलो प्रदर्शन भएको थियो।


यता निर्वाचन हुँदा हसिनाको पार्टी अवामी लिग विजयी हुनेमा वाजेद विश्वस्त छन् । ‘यदि आज बंगलादेशमा स्वतन्त्र र निष्पक्ष चुनाव भयो अवामी लिगले जित्नेमा भने म विश्वस्त छु,’ उनी भन्छन्।