हसिनाले राजीनामा दिएर बंगलादेश छाडेको तीन दिनमा २३२ जनाको मृत्यु

एजेन्सी

शनिबार, २६ साउन २०८१, ०९ : ०६
हसिनाले राजीनामा दिएर बंगलादेश छाडेको तीन दिनमा २३२ जनाको मृत्यु

एजेन्सी । बंगलादेशमा तत्कालीन प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि भएका हिंसात्मक घटनामा २३२ जनाको मृत्यु भएको छ ।

बिहीबार प्रकाशित 'दैनिक प्रथम आलो'को प्रतिवेदनअनुसार अधिकांशको मृत्यु मंगलवार भएको हो । जसमा केही व्यक्तिको उपचारका क्रममा मृत्यु भएको ढाका ट्रिब्युनले जनाएको छ । 

सोमबार शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेकी थिइन् । त्यसपछि पनि हिंसाका घटना नरोकिएको समाचारमा उल्लेख छ ।

आरक्षणका विषयमा भएको आन्दोलनका क्रममा त्यसअघि नै ३२८ जनाको मृत्यु भएको थियो । पछिल्लो २३ दिनमा बंगलादेशमा भएको हिंसा र आन्दोलनमा मृत्यु हुनेहरूको कुल संख्या ५६० पुगेको समाचारमा उल्लेख छ ।

अहिले भने बंगलादेशमा अन्तरिम सरकार बनिसकेको छ ।