जुवाखालमा छापा, तेस्रो तल्लाबाट हाम फाल्दा दुई जनाको मृत्यु

शनिबार, २० असोज २०७५, १० : ३७
जुवाखालमा छापा, तेस्रो तल्लाबाट हाम फाल्दा दुई जनाको मृत्यु

काठमाडौँ । कागेश्वरी मनहरा–६ स्थित जुवा खेलाइरहेको एक भवनको तेस्रो तल्लाबाट हाम फाल्दा शुक्रबार राति दुईजनाको उपचारका क्रममा बि एण्ड बी अस्पतालमा मृत्यु भएको छ । 

काठमाडौँ महानगरीय प्रहरी परिसरले राति १० बजेको समयमा जुवाखालमा छापा मारेको थियो । घर बाहिरको च्यानल गेटमा ताला लगाएर जुवा खेलाइएकोे टेण्डी शेर्पाको घरमा प्रहरीले छापा मार्दा भाग्ने क्रममा ठेगाना नखुलेका ४१ वर्षीय सरोज घले र सोमलाल तामाङको मृत्यु भएको हो । 

प्रहरीले जुवाखालबाट एक महिलासहित २३ जनालाई पक्राउ गर्नाका साथै रु चार लाख ५८ हजार र केही थान सुनका गरगहना बरामद गरेको महानगरीय प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाले जानकारी दिनुभयो । उक्त स्थानबाट केही खुकुरी र मोटरसाइकलका साथै जुवा खेलाउन प्रयोग गरिने केही सामग्री समेत बरामद गरिएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस