काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यो वर्ष कम्तीमा एक हजार मेगावाट जलविद्युत उत्पादन थप्ने लक्ष्य राखेको छ । नेपालको जलविद्युत उत्पादन क्षमता ८३ हजार मेगावाट रहेको बताइए पनि हालसम्म ३ हजार ५ सय मेगावाट मात्र उत्पादन हुन सकेको छ । तीव्र जलविद्युत उत्पादनको लक्ष्य अनुसार चालु आर्थिक वर्षभित्रै थप एक हजार मेगावाट उत्पादन गरेर ४ हजार ५ सय मेगावाट पुर्याउने लक्ष्य मन्त्रालयले राखेको हो ।
चालु आर्थिक वर्षका लागि सरकारले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका लागि ८७ अर्ब ५६ करोड ६७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमध्ये ५३ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ ऊर्जा क्षेत्रका लागि छुट्टाइएकोमा बाँकी ३३ अर्ब ७० करोड ८७ लाख रुपैयाँ जलस्रोत तथा सिँचाइ क्षेत्रमा छुट्टाइएको छ ।
आर्थिक वर्षको बजेट कार्यान्वयनमा गइसकेको अवस्थामा मन्त्रालयले ऊर्जा क्षेत्र र जलस्रोत तथा सिँचाइ क्षेत्र दुवै तर्फको वार्षिक कार्यक्रम सार्वजनिक गर्दै प्रभावकारिता र उत्पादनको लक्ष्य राखेको हो ।
बजेट कार्यान्वयनबाट प्राप्त हुने प्रमुख उपलब्धिहरूमा जलस्रोत तथा सिँचाइतर्फ हालसम्म सिँचाइ पूर्वाधार बनेको १५ लाख ७० हजार हेक्टरबाट १५ लाख ८५ हजार ९७० हेक्टरमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य मन्त्रालयले राखेको छ । ठुला तथा मझौला नदीमा तटबन्ध निर्माण हाल १४१५ किमी रहेकोमा यसको विस्तार आर्थिक वर्षभित्र १४५१ किमी पुर्याउने मन्त्रालयले जनाएको छ ।
यसैगरी राडार केन्द्र स्थापना तथा सञ्चालन हाल एउटा मात्र रहेकोमा थप २ वटा स्थापना गरी ३ वटा पुर्याउने, जलमापन केन्द्र स्वचालित बनाउनेतर्फ १७५ बाट १९० र मौसम मापन केन्द्र स्वचालित बनाउने तर्फ ३३२ बाट ३५० पुगेको हुने लक्ष्य मन्त्रालयले लिएको छ ।
यसैगरी ऊर्जा विकास तर्फ उत्पादन तर्फ जलविद्युत उत्पादन क्षमता ३५०० मेगावाटबाट ४५०० मेगावाट पुर्याउने लक्ष्य राखेको मन्त्रालयले प्रसारण लाइन निर्माण (६६ के.भी.भन्दा बढी) ७४०५ किमीबाट ८५९० किमी पुर्याउने र ३३ केभी प्रसारण लाइन विस्तार ७७७० किमीबाट ८००० किमी पुर्याउने लक्ष्य राखेको छ ।
राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युतमा पहुँच प्राप्त गर्ने जनसङ्ख्या ९७ प्रतिशतबाट १०० प्रतिशत पुर्याउने र प्रतिव्यक्ति खपत ४०० किलोवाट प्रतिघण्टाबाट ४५० किलोवाट घण्टा पुर्याउने ऊर्जा मन्त्रालयले लक्ष्य राखेको छ ।
यता विद्युत् चुहावट हाल १३.४४ प्रतिशत रहेकोमा यसलाई १३.४२ प्रतिशतमा झार्ने लक्ष्य मन्त्रालयले राखेको छ । लघु तथा साना जलविद्युत आयोजनाबाट विद्युत् उत्पादन ४०.६५ मेगावाटबाट ४२ मेगावाट तथा सौर्य प्रणालीबाट विद्युत् उत्पादन ४९.५ मेगावाटबाट ५२ मेगावाट पुग्ने लक्ष्य मन्त्रालयले राखेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ साउन २०८१, १३ : ५७
लेखकबाट थप