कमल थापाको किताब आउँदै

सफल खबर संवाददाता

मंगलबार, २२ साउन २०८१, ०९ : ०१
कमल थापाको किताब आउँदै

काठमाडौ । राप्रपा नेपालका अध्यक्ष पूर्वउपप्रधानमन्त्री कमल थापाको ‘नाकाबन्दी र भूराजनीति- कूटनीतिमा मेरो अनुभव र अनुभूति’ नामक पुस्तक प्रकाशित हुने भएको छ।  पुस्तक भदौ १० गते कृष्ण जन्माष्टमीका दिन सार्वजनिक गर्ने गरी तयारी गरिएको थापाले राजधानीमा पुस्तक सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार भेटघाटमा जानकारी दिएका हुन्।

थापाले पुस्तकलाई ६ खण्डमा विभाजन गरिएको र परराष्ट्र सम्बन्धी विभिन्न घटनाक्रमलाई उल्लेख गरिएको बताए । पुस्तकमा एकीकृत महाकाली सन्धि तथा २०७२ सालमा देशको नयाँ संविधान जारी भएपछि परराष्ट्र मन्त्रीका रूपमा थापाले निर्वाह गरेको भूमिका र त्यसैको सेरोफेरोमा रहेर आफ्ना अनुभूति अभिव्यक्त गरेका छन्। थापाले सन् १९५० को शान्ति तथा मैत्री सन्धि तथा त्यसयता विकसित दुई देशबिचको सम्बन्धका विविध आयामलाई पुस्तकमा समेट्ने प्रयास गरेको बताए। विशेषगरी नाकाबन्दीका समयमा भएका घटनालाई थापाले इमानदारीपूर्वक पुस्तकमा प्रस्तुत गरेको र लामो किसिमबाट बिषयबस्तुलाई नतन्काएको पनि उनले उल्लेख गरे ।

सीमा समस्या , चीनसँगको सम्बन्ध, विभिन्न राष्ट्रप्रमुखहरूसँगको भेट  लगायतका बिषयबस्तुलाई पुस्तकमा समावेश गरिएको उनले जानकारी दिए ।उक्त पुस्तक आत्मकथा नभएको पनि थापाले स्पष्ट पारे। उनले मुलुकको भूराजनीति, सुरक्षा एवं सामरिक मामिलामा नेपाल र भारतबिच अवधारणागत भिन्नता रहेकाले द्विदेशीय सबै समस्या संवादका माध्यमबाट समाधान हुनुपर्नेमा जोड दिए।

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन परम्परागत परिभाषा परिमार्जनको आवश्यकता औँल्याउँदै लेखक थापाले आपसी सम्बन्धलाई नयाँ शिराबाट समीक्षा गर्नुपर्ने बताए। लेखक थापा तत्कालीन प्रधानमन्त्री त्रय लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा र केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्‌मा परराष्ट्रमन्त्री थिए।

थापाका यसअघि ‘कर्नेल छत्रबहादुर थापा : एक पटकको सैनिक जीवनभरको सैनिक’ र ‘द्वन्द्व व्यवस्थापन र चुनौती’ पुस्तक प्रकाशित छन्।

प्रतिक्रिया दिनुहोस