लोकतन्त्रलाई सुदृढ र व्यवहारिक बनाउन संविधान संशोधन : प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

आइतबार, २० साउन २०८१, १४ : ०१
लोकतन्त्रलाई सुदृढ र व्यवहारिक बनाउन संविधान संशोधन : प्रधानमन्त्री ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई अझ सुदृढ र संविधानलाई व्यवहारिक बनाउन संविधान संशोधनको पहल गरिने बताएका छन् ।  आइतबार एमाले केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले संविधान संशोधनको कुरा गर्दा कतिपयले प्रतिगमनको चर्चा गरे पनि संविधान संशोधन प्रतिगमनका लागि नभई अग्रगमनका लागि भएको दाबी गरे ।

‘अहिलेको नेपाली कांग्रेस र एमालेको समीकरणले संविधान संशोधनको कुरा गर्दा प्रतिगमनको मुद्दा बोकेर हिँडेका पार्टीका लागि होइन’, उनले भने, ‘लोकतन्त्रको पक्षमा लडेकाहरूका लागि हो ।’  उनले लोकतन्त्रलाई अझ सुदृढ र संविधानलाई व्यवहारिक बनाउन जरुरी रहेको बताए ।

‘लोकतन्त्रलाई सुदृढ र संविधानलाई व्यवहारिक, स्वीकार्यता, ग्राहयता र प्रभावकारिताका लागि संविधान संशोधन गर्ने हो’, ओलीले भने, ‘मानव केन्द्रीत, समाजकेन्द्रीत हिसाबले अगाडि बढ्ने । त्यस मान्यता अनुसार समृद्ध नेपाल सुखी नेपालको उद्देश्यमा हामी लागिरहेका छौ ।

उनले जसले जे सुकै भने पनि नेकपा एमाले बलिदान पूर्ण सङ्घर्षको लामो इतिहास बोकेको पार्टी भएको भन्दै यसले कहिले वैचारिक त कहिले व्यवहारिक र सांगठानिक ढङ्गले मुलुकको नेतृत्व गरिरहेको बताए । 

कतिपयले संविधानलाई असंशोधनीय ग्रन्थजस्तो गरेर व्याख्या गर्ने गरेको भन्दै ओलीले सुशासन, विकास र सामाजिक उन्नतिका लागि व्यवहारमा परीक्षित र परिमार्जन हुँदै जाने कुरा संविधान भएकाले भ्रममा नपर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस