माधवलाई केपीको कटाक्ष : पुराना गीत सम्झना हुनसक्छ

सफल खबर संवाददाता

विहीबार, १८ असोज २०७५, २१ : ३१
माधवलाई केपीको कटाक्ष : पुराना गीत सम्झना हुनसक्छ

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिएर स्वदेश फिर्ता भएपछि त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले नेता माधव कुमार नेपालसंग आफनो २९ बर्षदेखिको घनिष्ट सम्बन्ध रहेको बताएका छन् ।
“उहाँसँग मित्रता छ। अनुभव छन्। तपाईंहरूले चिन्ता नलिएर ढुक्क हुन आग्रह गर्छु ।” पार्टीभित्र सामान्य बिवाद उत्पन्न भएको भन्दै उनले भने  “कवि मनले लयात्मक ढंगले केही भनिहाल्यो भने त्यसैलाई समातेर कुद्नु पर्ने छैन । पुराना गीत सम्झना हुनसक्छ ।”
प्रधानमन्त्री ओलीले भने “हिजो चुनावी तालमेल गर्ने सहमति गर्दा एकता हुनै सक्दैन भन्थे पार्टी एकता गर्दा टिक्दैन भन्थे ,अहिले तल्लो तहमा एकता भएको छैन भन्दैछन् ‘२र४ दिन पर्खिनुस्, व्यवहारबाटै जवाफ दिन्छौं ।”  नेकपाको सरकार ५ बर्षसम्म रहने दाबी गर्दे ‘सरकारले नराम्रा काम नगरेको बरू राम्रा काम गर्ने प्रयास गरेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो सरकार पाँच वर्ष चल्छ। चुनाव गर्छ। अनि अझै बलियो बनेर आउँछ।’ 
प्रधानमन्त्री ओलीले एउटा हावा चल्यो पात हल्लियो भन्दैमा त्यसको पछाडि लाग्नु दृष्टिकोण नभएको राजनीति हुने बताए । ‘त्यस्ता राजनीतिको पछाडि कतिपय पक्ष कुदे भने मुद्दाहीनताको कुरामात्र देखिन्छ ‘ उनले भने । पार्टी एकिकरणका बिषयमा बोल्दै उनले केही समयमै यसको नतिजा देखाउँने ओलीको दाबी छ ।

भ्रमणमा के–के गरे प्रधानमन्त्री ओलीले ?

असोज ८
असोज ६ गते नेपालबाट प्रस्थान गरेका प्रधानमन्त्री ओली ८ गते न्युयोर्क पुगे । उनलाई न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुनकुमार कार्की तथा संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्लेले स्वागत गरे । 

असोज ९ 
प्रधानमन्त्री ओली र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता गरे । भेटवार्ताका क्रममा प्रधानमन्त्री ओली र क्यानडाका समकक्षी ट्रुडोले दुई मुलुकबीच दुई पक्षीय परामर्श संयन्त्र स्थापना गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । उक्त समझदारीपत्रबाट दुई मुलुकबीचको सम्बन्धका आयाममा  परामर्श गर्ने मार्ग खुल्ला भएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीले दुई मुलुकबीच सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि उच्च स्तरमा भेटवार्ता भएकोमा खुशी व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले भूकम्पपछिका समय नेपाली जनतालाई क्यानडा सरकारका तर्फबाट प्राप्त सहयोगप्रति धन्यवाद दिए । 

त्यस्तै असोज ९ गत नै प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा प्रथम महिला मेलानिय ट्रम्पद्वारा आयोजित स्वागत समारोहमा सहभागी भए । अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियले महासभाको ७३औँ अधिवेशनमा भाग लिन त्यहाँ पुगेका विभिन्न मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा सरकारका प्रतिनिधिको सम्मानमा स्वागत समारोह आयोजना गरेका थिए । त्यही समारोहका बीचमा प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग छोटो कुराकानी गरेका थिए । 

असोज १० 
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आयोजना गरेको स्वागत समारोहमा सहभागी भए । महासभाको ७३औँ अधिवेशनमा भाग लिन त्यहाँ पुगेका विभिन्न मुलुकका राष्ट्रप्रमुख, सरकार प्रमुख तथा सरकारका प्रतिनिधिको सम्मानमा राष्ट्र सङ्घको मुख्यालयमा राष्ट्रसङ्घका महासचिव गुटेरेसले स्वागत समारोहको आयोजना गरेका थिए । 

त्यस्तै असोज १० गते नै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घको मुख्यालयभित्र ट्रस्टिसिप च्याम्बरमा आयोजित ‘शान्ति स्थापनार्थ कार्य’ (एक्सन फर पिस किपिङ) को उच्चस्तरीय बैठकमा सम्बोधन गरे ।

सम्बोधनमा उनले शान्ति स्थापनाको स्वायत्ततामा सम्झौता गर्ने भएकाले नेपालले सधैँ चेतावनीलाई पन्छाउने गरेको बताउँदै अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको बृहत् अभिरुचिमा सबै मुलुकलाई बलियो भएर उभिन आग्रह गरे ।  

सोही दिन प्रधानमन्त्री ओली एसिया सोसाइटीले आयोजना गरेको ‘शान्ति, प्रजातन्त्र तथा विकास’ विषयक सार्वजनिक व्याख्यान कार्यक्रममा सहभागी भए । उक्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालको कसैसँग पनि सत्रुता नभएको र सबैप्रति मित्रता भएकाले सबैको सहयोगबाट मुलुकलाई कम विकसित स्तरबाट विकसित बनाउन चाहेको बताए । 

असोज ११
प्रधानमन्त्री ओली संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भेटवार्ता गरे । महासभाको ७३औँ अधिवेशनमा भाग लिन प्रधानमन्त्रीद्वयको भेटवार्ता भएको थियो । 

त्यस्तै असोज ११ गते नै प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री सुषमा स्वराजले शिष्टचार भेट गरे । भेटमा प्रधानमन्त्रीले दुई मुलुकबीचको सम्बन्धलाई थप सबल बनाउने विषयमा छलफल भएको बताए । 

सोही दिन प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा स्विजरल्यान्डका राष्ट्रपति एलँ बेर्सेटसँग भेटवार्ता गरे । महासभाको ७३औँ अधिवेशनमा भाग लिए त्यहाँ पुगेका राष्ट्रपति बेर्सेटसँग प्रधानमन्त्रीले भेटवार्ता गरेका थिए । भेटमा दुई पक्षीय हितका सम्बन्धमा साथै नेपालमा स्विजरल्यान्ड सरकारको सहयोगका विषयमा पनि छलफल भएको बताइएको छ । 

त्यस्तै असोज ११ गते नै प्रधानमन्त्री ओलीले महासभाको समाचार सङ्कलन गर्न आफूसँग आएका सरकारी स्वामित्वका र निजी क्षेत्रका पत्रकार तथा अमेरिकामै क्रियाशील पत्रकारलाई संयुक्त रूपमा भेटघाट गरे । 

असोज १२
संयुक्त राष्ट्रसङ्घ, महासभाको ७३औँ महाधिवेशनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका प्रधानमन्त्री ओेलीले महासभामा सम्बोधन गरे । सम्बोधनका क्रममा उनले नेपालको राजनीतिक द्वन्द्व व्यवस्थापन विश्वका विभिन्न भागमा शान्तिको कामना गर्ने धेरै व्यक्तिलाई अभिप्रेरक कथा बन्नसक्ने बताए । साथै उनले नेपालले यो अनुभव र अन्तर्दृष्टि अन्य पक्षसँग साझेदारी गर्न चाहेको बताए । यो कार्यक्रम प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणको मुख्य कार्यक्रम थियो । प्रधानमन्त्री ओलीले प्रजातान्त्रिक सङ्क्रमणको कठिन यात्रापछि नेपाल आफैले दिगो राजनीतिक र आर्थिक सङ्क्रमणको मार्गको रूपमा ‘समृद्ध नेपाल र सुखी नेपाली’को दृष्टिकोण अगाडि बढाएको बताएका थिए । 

सोही दिन प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरे । भेटमा नेपाल तथा राष्ट्र सङ्घबीच सहयोगका विभिन्न पक्षका विषयमा छलफल भएको राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

असोज १३ 
असोज १३ मा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगको निरीक्षण गरे । प्रधानमन्त्री ओलीलाई नियोगका काम कारवाहीका विषयमा कार्यवाहक प्रमुख निर्मलराज काफ्ले तथा अन्य कर्मचारीले जानकारी गराएका थिए । 

सोही दिन प्रधानमन्त्री ओलीले अमेरिकाका लागि नेपाली महावाणिज्य दूतावासको निरीक्षण गरे । उनलाई कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराई तथा दूतावासका अन्य कर्मचारीले दूतावासका कामकारवाहीका विषयमा जानकारी गराएका थिए । 

त्यस्तै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घका लागि नेपाली नियोगमा अमेरिकास्थित विभिन्न नेपाली समुदाय तथा गैरआवासीय नागरिक (अमेरिका)का प्रतिनिधिहरूसँग भेटघाट गरे ।  

असोज १४
असोज १४ गते प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोस्टारिकाका प्रस्थान गरे । कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा प्रधानमन्त्री सान होजेतर्फ प्रस्थान गरे । 

उनलाई सान होजेको हुँवा सान्तामारिया अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति एप्सी क्याम्बेल बारले स्वागत गरेका थिए । प्रधानमन्त्री ओली सोही दिन कोस्टारिकाका लागि नेपाली महावाणिज्यदूत आना भिक्टोरिया बादिला भीले आयोजना गरेको रात्रिभोजमा सहभागी भए ।

असोज १५ 
प्रधानमन्त्री ओलीले कोस्टारिकाको लस सान्तोस, इओलिका पार्कस्थित पिरिस जलविद्युत्् संयन्त्र निरीक्षण गरे । इओलिक पार्क आइपुग्दा प्रधानमन्त्री ओलीलाई संयन्त्रका प्रमुख इन्जिनियर जर्मन युरेना, डीबी एरियासले स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीलाई ‘कोस्टारिकन इलेक्ट्रिसिटी कर्पोरेसन’ (आईसीई)का निर्देशक रोबेर्तो किरोसले परियोजनाका बारेमा जानकारी गराएका थिए । 

प्रधानमन्त्री ओलीले सोही दिन सहकारीमा आधारित वायुऊर्जा परियोजना कोपासान्तोसको पनि निरीक्षण गरे । उनलाई कोपासान्तोसका अध्यक्ष तथा महाप्रवन्धकले वायुऊर्जाका विषयमा जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीले सोही दिन वायुऊर्जाका बिन्ड टर्बाइनको पनि निरीक्षण गरे । 

सोही दिन प्रधानमन्त्री ओली कोस्टारिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीले आयोजना गरेको रात्रिभोजमा सहभागी भए । 

असोज १६ 
युनिभर्सिटी फर पिस (शान्ति विश्वविद्यालय) ले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी भए । युनिभर्सिटीले नेपालमा शान्ति तथा प्रजातन्त्र प्राप्तिका लागि योगदान पुर्याएको भन्दै प्रधानमन्त्री ओलीलाई  मानार्थ विद्यावारिधिको उपाधि ‘डाक्टर्स अनरिस कजा’ प्रदान गरेको थियो । उक्त उपाधि स्वीकार गर्दै प्रधानमन्त्री ओलीले आफूलाई दिइएको उपाधि नेपालको शान्ति प्रक्रियाको सफलता तथा शान्ति चाहने नेपाली जनताको सम्मान भएको बताएका थिए । उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले लामो भाषण गरेका थिए । उक्त कार्यक्रमपछि प्रधानमन्त्री ओली रेक्टर आराभेनाले विश्वविद्यालयको ‘रिक्रिएटिभ पार्क’मा आयोजना गरेको दिवाभोजमा सहभागी भए । 

त्यस्तै सोही दिन प्रधानमन्त्री ओली र कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभारादो क्वेसाडाबीच  भेटवार्ता भयो । भेटवार्तामा अन्तर्राष्ट्रिय शान्ति, कृषि, मौसम परिवर्तन आदि क्षेत्रमा मिलेर काम गर्नसक्ने विषयमा छलफल भएको थियो । वार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफूले कोस्टारिकाका विषयमा धेरै कुरा सुनेको, अहिले देख्न पाएको र भ्रमणका लागि योभन्दा उपयुक्त समय नभएको बताएका थिए । उनले कोस्टारिकाले आर्थिक, वातावरण संरक्षण, मानव अधिकार जस्ता विषयमा निकै प्रगति गरेको बताएका थिए । 

प्रधानमन्त्री ओलीले राष्ट्रपति क्वेसाडा तथा प्रथम महिलालाई उपयुक्त समयमा नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए । सोही दिन प्रधानमन्त्री ओली तथा राष्ट्रपति क्वेसाडाबीच छुट्टै एकल वार्तासमेत भएको थियो । त्यसपछि दुई मुलुकबीच प्रतिनिधिमण्डल स्तरमा वार्ता भएको थियो । सोही अवसरमा प्रधानमन्त्री ओलीले कोस्टारिका कला सङ्ग्रहालयको अवलोकन गरेका थिए । प्रधानमन्त्री ओली सोही दिन कोस्टारिकाको औपचारिक भ्रमण सकेर न्युयोर्क फर्केका थिए । न्युयोर्क पुगेका प्रधानमन्त्री ओली आफ्नो भ्रमण सकेर नेपाल प्रस्थान गरेका थिए । 

असोज १८
उनी नेपाल फर्कंदै गर्दा कतारको को हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँ रहेका नेपालीहरूले भेटघाट गरेका थिए । असोज १८ गते प्रधानमन्त्री ओली काठमाडौं फर्के । प्रधानमन्त्री ओलीका साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव भरतराज पौडेल, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य अधिकारी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस