दुई वर्ष पुग्नुभन्दा १ साता अगाडि नै राजीनामा दिन्छु : प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

मंगलबार, १५ साउन २०८१, १६ : ०२
दुई वर्ष पुग्नुभन्दा १ साता अगाडि नै राजीनामा दिन्छु : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दुई वर्षे कार्यकाल पुग्नु एक हप्ता अगाडि नै राजीनामा दिने बताएका छन् ।सचिवहरूलाई निर्देशन दिने क्रममा मंगलबार ओलीले राजनीतिक स्थिरता हुनेमा ढुक्क भएर काम गर्न आग्रह गर्दै दुई वर्ष पुग्नु एक हप्ता अगाडि नै राजीनामा दिने बताएका उनको सचिवालयले बताएको छ।

‘दुई वर्ष सरकार ढुक्कले चल्छ । अनि त्यसपछि पनि राजनीतिक अन्योलता आउँदैन र कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्नुहुन्छ भन्नुभएको हो,’ ओलीको सचिवालयले भन्यो, ‘आफूपछि अर्को सरकारको विषयले सचिवहरूलाई काम गर्नमा द्विविधा नहोस् भनेर यस्तो बोल्नुभएको हो ।’

पछिल्लो समीकरण बनाउँदा ओली २०८३ साउन २९ गतेसम्म प्रधानमन्त्री बन्ने समझदारी भएको छ । त्यसपछि २०८४ मंसिरमा हुने चुनावसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्नेछन् ।

प्रतिनिधिसभाको बैठकमै ओलीले सात बुँदे सहमति सार्वजनिक गर्दै आफूले दुई वर्ष र त्यसपछि देउवा चुनावी सरकारको प्रधानमन्त्री बन्ने बताएका थिए । सचिवहरूसँगको छलफल नागरिकका कामसँग सम्बन्धित भएको पनि प्रधानमन्त्री निकट स्रोत बताउँछ । 

 

 

 

 

 

 

 

‘सबै मन्त्रालय नागरिकको कामसँग सम्बन्धित छन् । गर्न खोजेर पनि नसकिएका छन् । के भएको छ, के गर्न सकिन्छ । अब कसरी थप राम्रो गर्न सकिन्छ । सचिवसँग सोध्नुभएको हो,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘सबै सचिवसँग सोध्ने सबैको रिपोर्ट आएपछि अब कसरी नागरिक लक्षित काम गर्न सकिन्छ भनेर प्रधानमन्त्रीले छलफल गर्नुभएको हो ।’

सचिवहरूको जिम्मेवारी हेरफेर पनि समस्या समाधानको लागि भएको प्रधानमन्त्री निकट स्रोत बताउँछ ।‘अब के गर्ने, कसले प्रभावकारी काम गर्न सक्छ भन्ने थाहा पाउन, थाहा भएको कुरा कार्यान्वयनको लागि जिम्मेवारी हेरफेर भएको हो,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘यो अरूको लागि होइन नागरिकलाई नतिजा दिएर काम गरौं भन्नको लागि हो ।’

प्रतिक्रिया दिनुहोस