वैदेशिक रोजगार बचतपत्र कार्यक्रम असफल, १३ वर्षमा जम्मा ७६ करोड बिक्री

सफल खबर संवाददाता

मंगलबार, १५ साउन २०८१, ११ : २९
वैदेशिक रोजगार बचतपत्र कार्यक्रम असफल, १३ वर्षमा जम्मा ७६ करोड बिक्री

काठमाडौँ । सरकारी ऋणपत्र तथा निश्चित परियोजनाका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूबाट लगानी उठाउने गरी ल्याइएको वैदेशिक रोजगार कार्यक्रम असफल भएको तथ्याङ्कले देखाएको छ ।२०६६/६७ देखि सुरु गरिएको वैदेशिक रोजगार बचतपत्रमा १३ वर्षको अवधिमा जम्मा ७६ करोड २३ लाख रुपैयाँ बराबरको मात्र ऋणपत्र बिक्री भएको हो । यो कूल खरिद आह्वानको जम्मा ४.९ प्रतिशत मात्र हो ।

नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्ययोजना अनुसार वैदेशिक रोजगार बचतपत्रका स्थिति र यसको प्रवर्द्धनका उपायहरू सम्बन्धी एक अध्ययन गरेको छ । जुन अध्ययन प्रतिवेदनले २०७५/७६ बाहेक सुरु वर्षदेखि २०७९/८० सम्मका सबै वर्षहरुमा यस्तो बचत पत्र बिक्रीका लागि आह्वान गरिएको जनाएको छ । 

आर्थिक वर्ष २०६६/६७ देखि २०७९/८० सम्मका १३ वर्षहरूमा बैंकले २५ पटक गरी जम्मा १५ अर्ब ५६ करोड रुपैयाँ बराबरको वैदेशिक बचत पत्र बिक्री आह्वान भएकामा यस अवधिमा जम्मा ७६ करोड २३ लाख रुपैयाँ बराबरको मात्र बिक्री भएको राष्ट्र बैंकले जनाएको छ । 

नेपाल सरकारबाट आन्तरिक ऋण परिचालनमा ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्र उपयोगमा ल्याइएको छ । आन्तरिक ऋण परिचालनका यी उपकरणहरूमध्ये आर्थिक वर्ष २०६६/६७ देखि आह्वान हुन थालेको वैदेशिक रोजगार बचत पत्र तुलनात्मक रुपले नयाँ उपकरण हो । 

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूको बचत बैंकिङ प्रणालीबाट भित्र्याउन प्रोत्साहन गर्ने र सरकारको आन्तरिक ऋण परिचालनमा समेत योगदान पुर्‍याउने उद्देश्यले आर्थिक वर्ष २०६६÷६७ देखि वैदेशिक रोजगार बचतपत्रको निष्कासन गर्न सुरु गरिएको हो ।

गैरआवासीय नेपाली नागरिक एवं वैदेशिक रोजगारीमा रहेका वा फर्किएको ६ महिना अवधि व्यतीत नभएका नेपाली नागरिक र निजका एकाघर परिवारकाले यो उपकरणमा लगानी गर्न पाउने व्यवस्था छ । 

 

पछिल्लो रिपोर्ट अनुसार ५५ लाख २६ हजार नेपालीहरू वैदेशिक रोजगारीको सिलसिलामा विश्वका विभिन्न देशहरूमा छन् । यसको अलाबा २० प्रतिशत भन्दा माथि अनौपचारिक च्यानलबाट भारतमा रहेका नेपालीहरू समेतलाई आधार बनाएर गरिएको सर्वेक्षणले वैदेशिक रोजगार बचतपत्रमा खासै रुचि नभएको देखाएको छ । बचतपत्रको परिचालन सुरुका वर्षहरूदेखि नै अपेक्षित रूपमा बिक्री हुन सकेको देखिँदैन ।

कुन वर्ष कति भयो खरिद ?

राष्ट्र बैंकको रिपोर्ट अनुसार पहिलो वर्ष १ अर्बको बचत पत्र आव्हान भएकोमा जम्मा ४० लाख रुपैयाँको बचत पत्र बिक्री भएको थियो भने दोस्रो वर्ष ५ अर्ब निष्कासन आव्हान भएकोमा ३३ लाख रुपैयाँ मात्र बिक्री भयो । त्यसपछिका अधिकांश वर्षहरूमा बचतपत्रको आव्हान ५० करोड भन्दा कम भएको देखिन्छ । 

आर्थिक वर्ष २०६८/६९ मा १ अर्ब आह्वान भएकोमा कत्तिपनि बिक्री भएन । २०६९/७० मा पुनः १ अर्बको आह्वान भएकोमा जम्मा १९ लाख रुपैयाँ मात्र बिक्री भयो । 

यसैगरी आर्थिक वर्ष २०७०/७१ देखि लगातार ५ वर्ष २५ करोडका दरले बचत पत्र बिक्री आह्वान गरिएकोमा कुनैपनि वर्ष ३ करोड भन्दा बढीको आवेदन परेन । तथ्याङ्कले आर्थिक वर्ष २०६६/६७ देखि २०७९/८० सम्म आव्हान रकमको जम्मा ४.९ प्रतिशत मात्र बिक्री हुन सकेको देखाउँछ । यस अवधिमा निष्कासन भएका सबै वैदेशिक रोजगार बचपत्रहरु ५ वर्ष अवधिको रहेका छन् ।

वैदेशिक रोजगार बचतपत्रमा आकर्षण नहुनुमा वित्तीय शिक्षा र प्रचार प्रसारको कमी रहेको निष्कर्ष केन्द्रीय बैंकको रहेको छ । यस्तो बचतपत्रमा लगानीकर्ताहरूले १०.३१ प्रतिशतसम्म ब्याजदर प्राप्त गरेका छन् ।