स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन विद्यमान ऐनमा नै परिवर्तन गर्नुपर्छ : मन्त्री पौडेल

सफल खबर संवाददाता

सोमबार, १४ साउन २०८१, १८ : ५०
स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन विद्यमान ऐनमा नै परिवर्तन गर्नुपर्छ : मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि विद्यमान ऐनमा नै परिवर्तन गर्ने बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा सांसद प्रेम सुवालले गरेका प्रश्नको जवाफमा उनले सो कुरा बताएका हुन् ।

मन्त्री पौडेलले अहिलेकै नीति, नियमले भित्र बीमा धेरै व्यवस्थित हुन नसकेकाले सरकारले त्यसलाई प्रभावकारी बनाउनका लागि बिमा समिति र सम्बन्धित पक्षसँग छलफल गरिरहेको पनि जानकारी दिए । स्वास्थ्य उपचारमा सहज बनाउनका लागि आम नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा समेट्नका लागि सरकारले अध्ययन गर्न छुट्टै समिति बनाउने तयारी पनि गरिरहेको मन्त्री पौडेलको भनाई थियो ।

उनले भने, ‘अहिलेकै नीति, नियम भित्र बीमा धेरै व्यवस्थित हुने स्थिति छैन । त्यसैले बीमा सम्बन्धी ऐन परिवर्तन गर्ने, नीति, नियम परिवर्तन गर्ने, यसलाई थप व्यवस्थित बनाउन जरुरी छ । खासगरी यसको दायरा फराकिलो बनाउने, सङ्गठित क्षेत्र सबैलाई बिमासँग आबद्ध गर्ने, त्यसको स्रोत सुनिश्चित गर्नका लागि सरकारले अरू थप पक्षलाई कसरी जोड्न सकिन्छ रु त्यसको निम्ति गृहकार्य भइरहेको छ ।’

मन्त्री पौडेलले स्वास्थ्य बीमाको दायरालाई फराकिलो बनाउन पनि सरकार लागि परेको बताए ।

प्रतिक्रिया दिनुहोस