कांग्रेस संसदीय दलको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

सफल खबर संवाददाता

आइतबार, ०६ साउन २०८१, ०७ : २८
कांग्रेस संसदीय दलको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बोलाइएको बैठक मध्याह्न १२ बजे सुरु हुनेछ । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गर्दै सांसदहरूलाई अनिवार्य संसदमा उपस्थित हुन भनिने बताइएको छ । 

त्यस्तै, बैठकमा समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने बताइएको छ । आज प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिँदै छन् । 

प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार ओलीले विश्वासको मत लिन लागेका हुन् । 

विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । 

संसदका दुई ठुला दल मिलेर बनेको सरकारको नेतृत्व गरेका एमाले अध्यक्ष ओली गत असार २८ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।