ट्रम्प हावी हुँदै जाँदा उम्मेदवारी फिर्ता लिन बाइडेनलाई पार्टीभित्रै दबाब

अमेरिकी राष्ट्रपति निर्वाचन

सफल खबर संवाददाता

शुक्रबार, ०४ साउन २०८१, १६ : ३३
ट्रम्प हावी हुँदै जाँदा उम्मेदवारी फिर्ता लिन बाइडेनलाई पार्टीभित्रै दबाब

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि राष्ट्रपति चुनावबाट उम्मेदवारी फिर्ता लिन दबाब बढ्दै गएको छ । पूर्वराष्ट्रपति बराक ओबामाले पनि बाइडेनको उम्मेदवारीलाई लिएर चिन्ता व्यक्त गरिरहेको समाचार अमेरिकी सञ्चारमाध्यमहरूले प्रकाशित गरिरहेका छन् ।बाइडेनलाई लिएर डेमोक्रेटिक पार्टीभित्रै विभिन्न आवाज उठ्न थालेका छन् ।

अर्कातर्फ रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले निर्वाचन अभियानमा अग्रता हासिल गरिरहेका छन् । यस्तोमा बाइडेनको अभियान दबाबमा देखिन थालेको छ डेमोक्रेटिक पार्टीका केही नेताले राष्ट्रपति चुनावमा पार्टीको अडानबारे अनिश्चितता प्रस्तुत गरिरहेका छन् ।

डेमोक्रेटिक पार्टीका एक वरिष्ठ अधिकारीले एक पत्रकार सम्मेलनमा बाइडेनलाई राष्ट्रपतीय निर्वाचनको दौडबाट हटाउन पार्टीभित्र कुरा उठेको स्वीकारे ।उनले भने, 'बाइडेनलाई चुनावी दौडबाट हटाउनु अनिवार्य जस्तै रहेको कुरा पार्टीभित्र उठ्न थालेको छ । यसबारे हामी विमर्श गरिरहेका छौं ।'

 

 

 

 

 

 

 

बेलायती सञ्चारमाध्यम बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजको सर्वेक्षणले पनि बाइडेन ट्रम्पभन्दा ५ अंक पछाडि रहेको देखाएको छ ।अभियानका क्रममा यो अहिलेसम्मको सबैभन्दा ठूलो फरक हो । तर, बाइडेनको अभियानले डेमोक्रेटिक पार्टीका केही उच्च नेताद्वारा व्यक्त गरिएका चिन्तालाई बेवास्ता गरेको छ ।

बाइडेनले पनि यी चिन्ताहरूलाई आधारहीन बताउने गरेका छन् ।उनले कुनै हालतमा आफूले उम्मेदवारी नछाड्ने घोषणा गरिरहेका छन् ।अमेरिकी सञ्चारमाध्यम 'वाशिङटन पोस्ट'का अनुसार पूर्व राष्ट्रपति बराक ओबामाले बाइडेनले राष्ट्रपति चुनाव जित्ने सम्भावना कम बन्दै गइरहेको भनी प्रतिक्रिया दिएका छन् ।

ओबामाका प्रवक्ताले उनको यस भनाइमाथि टिप्पणी दिन अस्वीकार गरेका छन् ।सर्वेक्षणको नतिजा र ओबामाको टिप्पणीअघि पूर्व हाउसस्पीकर न्यान्सी पेलोसी र कंग्रेसका दुई वरिष्ठ सदस्यहरू हकीम जेफ्रीज र चक शुमरले पनि बाइडेनलाई आफ्नो निर्णय पुनर्विचार गर्न भनेका थिए ।

बाइडेनलाई लिएर पार्टीमाबढ्योनिराशा

डेमोक्रेटिक पार्टीका एक वरिष्ठ पदाधिकारीको भनाइ उदृत गर्दै बीबीसी न्यूजले भनेको छ, 'पार्टीभित्र बाइडेनलाई लिएर निराशाको माहोल सिर्जना भएको छ । हामी सबै अर्को निर्णयको प्रतीक्षा गरिरहेका छौं ।'

त्यस्तै, वाशिङटन राज्यबाट कांग्रेसका डेमोक्रेटिक सदस्य एडम स्मिथले पनि बाइडेनलाई लिएर निराशाजनक वक्तव्य दिएका छन् ।बीबीसी रेडियो- ४ को कार्यक्रम 'द वर्ल्ड टुनाइट' मा उनलाई यसबारे सोधिएको थियो ।

उनले भनेका थिए, 'बाइडेनलाई चुनावी दौडबाट रोक्नुपर्छ भन्ने मलाई महसुस हुँदैछ । मलाई यसबारे थाहा छैन, तर बाइडेनको उम्मेदवारी अन्त्यतिर बढ्दै गएकोमा कुनै शंका छैन ।'  

जुन २०२४ मा पहिलो राष्ट्रपतीय बहसमा ट्रम्पविरुद्ध खराब प्रदर्शन गरेपछि बाइडेनका लागि कठिनाइको समय शुरू भएको थियो । केही समयदेखि उनी सार्वजनिक मञ्चहरूमा मानिसहरूको नाम बिर्सने र राम्रोसँग हिँड्न नसक्ने जस्तो देखिएका छन् ।

अहिले उनी कोभिड-१९ का सिकार भएका छन् र अहिले डेलावेयरमा आइसोलेसनमा छन् । यसविपरीत डोनाल्ड ट्रम्प जोशले भरिएका देखिन्छन् ।

ट्रम्पको जोश !

पेन्सेल्भेनियामा आफूमाथि भएको घातक हमलापछि पनि सक्रिय ट्रम्प अहिले मिल्वाउकीमा रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनमा भाग लिइरहेका छन् ।सम्मेलनमा जम्मा भएका रिपब्लिकन नेता र समर्थक उत्साहित छन् । यस सम्मेलनमा उनले औपचारिक रूपमा आफ्नो नामांकन स्वीकार गरेका छन् ।

बाइडेन आफ्नै पार्टीको दबाबका बाबजुद उम्मेदवारी छाड्ने मूडमा छैनन् । उनलाई अझै पनि पार्टीका नेताहरूको समर्थन प्राप्त छ, विशेष गरेर कंग्रेसका अधिकांश सदस्यहरू उनको पक्षमा छन् ।तर, स्पष्ट के छ भने उनीमाथि डेमोक्रेटिक नेतृत्वको दबाब अझ बढ्दै गएको छ ।

उम्मेदवारी छाड्न किन तयार छैनन् बाइडेन?

सिनेटमा बहुमत रहेका नेता चक शुमर र हाउस माइनोरिटी नेता हकीम जेफ्रीजले बाइडेनसँग व्यक्तिगत रूपमा भेटेर बाइडेनलाई चुनावी दौड समाप्त गर्न भनिसकेका छन् । उनीहरूले बाइडेन पुनः राष्ट्रपति बन्ने सम्भावना निकै कमजोर रहेकाले मार्गप्रशस्त गर्नुपर्ने बताएका थिए ।

शुमर सिनेटमा बहुमतका नेता हुन् । बहुमतका नेता सिनेटमा आफ्नो पार्टीको प्रमुख प्रतिनिधि हुन्छन् । उनी सिनेटमा सबैभन्दा शक्तिशाली सदस्य मानिन्छन् । तर शुमरले आफूले बाइडेनलाई नितान्त व्यक्तिगत कारणले भेटेको बताउँदै आएका छन् ।

यसबीच, अमेरिकी सञ्चारसंस्था सीएनएनका अनुसार हाउसकी पूर्वस्पीकर न्यान्सी पेलोसीले पनि बाइडेनलाई भेटेर उनी पुनः राष्ट्रपति बन्ने सम्भावना क्षीण रहेको बताएकी छन् ।बाइडेनसँग आफूले भेटेको कुरा खण्डन नगरे पनि पेलोसीले आफूले बाइडेन पुनः राष्ट्रपति हुने सम्भावना नरहेको नभनेको बताउने गरेकी छन् ।

मेरिल्यान्डका सांसद जेमी रेस्किनले बाइडेनलाई पत्र लेखेर उनको तुलना करियरको अन्तिम चरणमा रहेको बेसबल पिचरसँग गरेका छन् ।उनले लेखेका छन्, 'अवकाश हुन लाज मान्नुहुँदैन । जब तपाईंका हात थकित भएका हुन्छन्, प्रशंसाका बीच अवकाश घोषणा गर्नमा कुनै समस्या हुनु हुँदैन ।'

तर, बाइडेनको चुनाव अभियानका वरिष्ठ सल्लाहकारले यी रिपोर्टहरूलाई 'अड्कल' बताउँदै, सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, 'जो बाइडेन नै हाम्रो पार्टीका उम्मेदवार हुन् । उनी पुन: राष्ट्रपति चुनावको दौडमा छन् ।'

बाइडेनको अभियानका डेपुटी म्यानेजर क्वेन्टिन फल्क्सले भने, 'बाइडेन कुनै कुराबाट विचलित हुने मान्छे होइनन् । राष्ट्रपतिले आफ्नो मन बनाइसकेका छन् । म मुखले कडा हुन चाहन्नँ । तर मलाई थाहा छैन, कतिपटक यसबारे बोल्दै हिँडूँ ।'

प्रतिक्रिया दिनुहोस