एन्टीभाइरस अपडेटमा गम्भीर त्रुटि, आईटी सफ्टवेयर नचल्दा विश्वभरका विमानस्थलमा समस्या

सफल खबर संवाददाता

शुक्रबार, ०४ साउन २०८१, १६ : ०३
एन्टीभाइरस अपडेटमा गम्भीर त्रुटि, आईटी सफ्टवेयर नचल्दा विश्वभरका विमानस्थलमा समस्या

काठमाडौं। अमेरिकी साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकका कारण विश्वभर सूचना प्रविधिमा समस्या देखिएको छ ।एन्टीभाइरस उत्पादन गर्ने क्राउडस्ट्राइक नामको कम्पनीले आफ्नो सफ्टवेयर अपडेट गर्ने क्रममा ठूलो गल्ती गरेपछि विश्वभर विमानस्थल, हस्पिटल र अन्य क्षेत्रमा ठूलो समस्या देखिएको हो ।

बेलायती सञ्चारमाध्यम बीबीसीले जनाएअनुसार विश्वभर एयरलाइन्स, बैंक र मिडियामा समस्या देखिएको छ ।भारत लगायत धेरै देशहरूमा जहाज ग्राउण्डेड गरिएको छ भने अस्पतालमा तालिकामा रहेका अपरेशनहरू रद्द गरिएको छ ।

अमेरिकन एयरलाइन्सले आफ्नो कुनै पनि उडान नभएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । उसले पनि क्राउडस्ट्राइक साइबरसुरक्षा सफ्टवेयरको समस्याका कारण यस्तो भएको जनाएको छ ।

 

 

 

 

 

 

 

माइक्रोसफ्टले यो समस्या समाधान गर्न आफूले कदम चालिरहेको दाबी गरेको छ । तर कस्तो कदम हो भन्नेमा मौन देखिएको बीबीसीको भनाइ छ । बेलायतमा रेलहरू आफ्नो तालिका भन्दा ढिलो गुडिरहेका छन् र व्यापक आईटी समस्या देखिएको रिपोर्ट गरिरहेका छन् ।

स्काई न्यूजले प्रत्यक्ष प्रसारण गर्न नसकेको यसका कार्यकारी अध्यक्षले जनाएका छन् ।बीबीसीले के भएको हो भन्नेबारे जान्न क्राउडस्ट्राइकसँग सम्पर्क गर्ने प्रयास गरिरहेको तर त्यताबाट कुनै जवाफ आइनसकेको जनाएको छ ।

नेपालको विमानस्थलमा भने अहिलेसम्म यस्तो समस्या नदेखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका जनरल म्यानेजर जगन्नाथ निरौलाको भनाइ छ ।'समाचारहरूमा आइरहेको छ तर यहाँ त्यसको प्रभाव परिसकेको छैन,' उनले भने, 'यसबारे हामी अध्ययन गर्दैछौं ।'

प्रतिक्रिया दिनुहोस