नारायणी नदीमा फेला परेको शव गणपति डिलक्समा सवार यात्रुको भएको पुष्टि

सफल खबर संवाददाता

शनिबार, २९ असार २०८१, १४ : ४९
नारायणी नदीमा फेला परेको शव गणपति डिलक्समा सवार यात्रुको भएको पुष्टि

काठमाडौँ । चितवनको भरतपुर–२८ स्थित नारायण नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ । नेपाल प्रहरीको बागमती प्रदेशका डीआईजी विष्णु केसीले दिएको जानकारी अनुसार उक्त शव गणपति डिलक्सका यात्रुको हो ।

नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शवको साथमा केही कागजात पनि भेटिएको छ । प्राप्त कागजातको आधारमा उनी  भारतीय नागरिक ऋषि पल साह रहेको खुलेको प्रहरीको भनाइ छ । ‘साह नेपालमा बसेर काम गर्थे,’ डीआईसी केसीले भने ।

काठमाडौँबाट रौतहटको गौरतर्फ आउने क्रममा पहिरोमा परेर बेपता भएको गणपति डिलक्समा २९ जना सवार यात्रु रहेका थिए । बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बस त्रिशूलीमा खस्दा बसमा सवारमध्ये नन्दन दास, सुरज प्रसाद गुप्ता र जगेश्वर यादव बसबाट हाम फालेर नदीबाट बाहिर आएका थिए ।

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा दुई वटा डिलक्स गाडी त्रिशूलीमा खसेका छन् । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र गणपति डिलक्स नदीमा खसेका हुन् ।एन्जल वीरगन्जबाट काठमाडौँतर्फ र गणपति काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा पहिरोमा परेका थिए ।  

प्रतिक्रिया दिनुहोस