उत्तर प्रदेशमा यात्रुबाहक बस र दूध बोकेको ट्याङ्कर ठोक्किएः १८ जनाको गयो ज्यान

सफल खबर संवाददाता

बुधबार, २६ असार २०८१, १३ : ५३
उत्तर प्रदेशमा यात्रुबाहक बस र दूध बोकेको ट्याङ्कर ठोक्किएः १८ जनाको गयो ज्यान

काठमाडौं। नयाँ दिल्ली–उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा बुधबार यात्रुबाहक डबल डेकर बस दूध बोकेको ट्याङ्करमा ठोक्किएर दुर्घटना हुँदा कम्तीमा १८ जनाको ज्यान गएको छ। साथै अन्य १९ जना घाइते भएको भारतीय प्रहरीले जनाएको छ ।

उत्तर प्रदेशको राजधानी लखनऊबाट करिब ६८ किलोमिटर पश्चिममा उन्नाओ जिल्लाको गाढा गाउँ नजिकैको लखनऊ–आगरा एक्सप्रेस वेमा दुर्घटना भएको हो ।बिहारको सीतामढीबाट दिल्ली जाँदै गरेको डबल डेकर बसले पछाडिबाट दूधको ट्याङ्करमा ठोक्किएपछि दुर्घटना भएको प्रहरीले जनाएकाे छ ।

‘बुधबार बिहान ५ः१५ बिहारको मोतिहारीबाट आउँदै गरेको निजी यात्रु बस यहाँ राष्ट्रिय राजमार्गमा दूध ट्याङ्करसँग ठोक्किएको हो ।  दुर्घटनामा १८ जनाको ज्यान गएको छ । भने अन्य १९ जना घाइते भएका छन्,’ जिल्ला मजिस्ट्रेट गौराङ राठीले भने । बस अत्यधिक गतिमा रहेको प्रारम्भिक अनुसन्धानले खुलेको छ ।

घाइतेहरूको नजिकको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र पछि जिल्ला अस्पतालमा रेफर गरिएको राठीले बताए । दुर्घटनालगत्तै स्थानीयले प्रहरीलाई सूचना गरेपछि घाइतेहरूलाई अस्पताल पुर्याउन उद्धार टोली र एम्बुलेन्सहरू घटनास्थलमा पुगेका थिए ।

 

 

 

 

 

 

 

घटनास्थलमा पुग्दासम्म केही स्थानीयले घाइतेलाई क्षतिग्रस्त बसबाट बाहिर निस्कन मद्दत गरिरहेको  एक प्रहरी अधिकारीले बताए । क्षतिग्रस्त बस र दूध बोकेको ट्याङ्करलाई क्रेन प्रयोग गरेर सडकबाट निकालिएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उचित उपचार सुनिश्चित गर्न अधिकारीलाई निर्देशन दिएका छन् ।दुर्घटनाको कारण पत्ता लगाउन प्रहरीले मुद्दा दर्ता गरी थप अनुसन्धान थालेको छ ।भारतमा हरेक वर्ष लगभग पाँच लाख सडक दुर्घटनामा एक लाख ५० हजार  मानिसहरूको मृत्यु हुने अधिकारीले बताएका छन् ।