माओवादीबाट आजित भएर कांग्रेस र एमालेको समीकरण बन्यो : शेखर कोइराला

सफल खबर संवाददाता

विहीबार, २० असार २०८१, १३ : ५५
माओवादीबाट आजित भएर कांग्रेस र एमालेको समीकरण बन्यो : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले माओवादी केन्द्रको अस्थिर चरित्रबाट आजित भएर कांग्रेस र एमालेबिच सत्ता सहकार्यको सहमति भएको बताएका छन् । राजनीतिक स्थायित्वका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।

कांग्रेस पर्साले बिहीबार वीरगन्जमा गरेको कार्यक्रममा कोइरालाले गठबन्धन फेर्दै माओवादी केन्द्रले कांग्रेस र एमालेलाई आजित बनाइसकेपछि एक ठाउँमा आएको बताए ।  ‘कांग्रेससँग गठबन्धन गरेर ३२ सिट ल्याए, सरकार बनाउने बेला एमालेसँग मिले ।

एमालेसँगै मिलेर गएको भए भइहाल्थ्यो, हामी प्रतिपक्षमा बस्थ्यौँ। दुई महिनापछि कांग्रेससँग मिल्यो भने फेरि एमालेसँग मिल्यो। त्यसपछि हामीले सोचेर, विचार गरेर नै कांग्रेस र एमाले समीकरण गर्ने सहमति गरेको हो,’ उनले भने।

एमालेसँग समीकरण गर्ने कुरा कांग्रेस सभापति शेरबहादुर देउवाको एकल निर्णय नभएको उनको भनाइ थियो । ‘संविधान सुधार नगरी देश चल्न सक्दैन भनेर हामी सबैले कुरा गर्‍यौँ, नागरिक समाजले पनि कुरा गर्न थाल्यो,’ उनले भने, ‘ त्यसपछि कांग्रेस र एमालेबिच समीकरणको कुरा अगाडि बढेको हो ।

एमालेसँग केही समयअघि नै कांग्रेसले समीकरण गर्नुपर्नेमा ढिलो भएको पनि कोइरालाले बताए। ‘कोशीमा एमालेसँग समीकरण पनि गरिएको थियो। त्यस बेला मलाई पार्टीमा नेताहरूले गाली पनि गरे,’ उनले भने, ‘ त्यहीबेला केन्द्रमा पनि गठबन्धन गरेको भए अहिलेको अवस्था त आउँदैनथ्यो।’

कांग्रेस र एमाले मिलेर सरकार बनाउने राम्रो पक्ष भएको कोइरालाले बताए । उनले भने,  ‘संविधान सुधार गरेर अघि जान एमालेसँग समीकरण गरेको हो । प्रदेशदेखि केन्द्रसम्मका सरकार परिवर्तन भइराख्यो, ठुला दल एक ठाउँमा उभिएर राजनीतिक स्थायित्व दिन खोजिएको हो।’

अहिले रहेको मिश्रित निर्वाचन प्रणाली हटाएर प्रत्यक्ष मात्रै राख्नुपर्ने उनको भनाइ छ । ‘हामीहरूको प्राथमिकता राजनीतिक स्थायित्व, सुशासन र विकास हो,’ कोइरालाले भने, ‘समानुपातिक र समावेशी कुरालाई बिर्सन हुँदैन। प्रदेशदेखि संघसम्म प्रत्यक्ष निर्वाचनमा जाने र जुन पार्टीले जित्छ उसले सरकार बनाउँछ।’

प्रतिक्रिया दिनुहोस