एनआईसी एशिया बैंक र चन्द्रागिरि नगरपालिकाबीच सम्झौता

सफल खबर संवाददाता

बुधबार, १९ असार २०८१, १६ : ३४
एनआईसी एशिया बैंक र चन्द्रागिरि नगरपालिकाबीच सम्झौता

काठमाडौं। एनआईसी एशिया बैंक र चन्द्रागिरि नगरपालिकाबीच सम्झौता भएको छ ।चन्द्रागिरि नगरपालिका भित्र जन्मिएका नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने गरी असार १९ गते सम्झौता गरिएको बैंकले जनाएको छ ।

नगरपालिकाको उक्त कार्यक्रमको बैंकिङ्ग साझेदारको रूपमा एनआईसी एशिया छनोट भई मुद्दती खाता यस बैंकमा सञ्चालन हुनेगरी नगरपालिका र बैंकबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनिया र चन्द्रागिरि नगरपालिकाको तर्फबाट नगर प्रमुख घनश्याम गिरीले हस्ताक्षर गरेका छन्।

चन्द्रागिरि नगरपालिकाको निजी उद्यम प्रवर्द्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि, २०७८ (संशोधनसहित २०८०) अनुसार नगरपालिका भित्र मिति २०८० श्रावण १ गते वा सो मिति भन्दा पछि जन्मिएका बालबालिकाहरू १८ वर्ष पुगे पश्चात् परिपक्व हुनेगरी उनीहरूलाई आर्थिक सामाजिक सुरक्षा कार्यविधि बमोजिम नगरपालिकाबाट यो सुविधा प्रदान गरिनेछ ।

नगरपालिकाको कार्यविधि अनुसार यस नगरमा स्थायी बसोबास गर्नुहुने महानुभावहरूका छोराछोरीहरू यो योजनाबाट लाभान्वित हुन सक्नुहुनेछ र यसका लागि जन्मदर्ता अनिवार्य गरिएको छ । 

चन्द्रागिरि नगरपालिकाले सो अवधिपछि नगरमा जन्मिएका नवजात शिशुहरूको ५/५ हजारका दरले प्रत्येक बालबालिकाको नाममा यस एनआईसी एशिया बैंकमा १८ वर्षे मुद्दती निक्षेप खाता खोलिदिनेछ ।

यस्ता खातामा अभिभावकले चाहेको खण्डमा थप रकम समेत राख्न सक्ने व्यवस्था गरिएको छ ।यस योजनामा सामेल हुने ग्राहकहरूको निक्षेपमा बैंकले अधिकतम ब्याजदर प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस