गणतन्त्र स्थापनापछि पनि कर्मचारीतन्त्र नयाँ बनाउन सकिएन : पृथ्वीसुब्बा गुरुङ

सफल खबर संवाददाता

शुक्रबार, १४ असार २०८१, १४ : २१
गणतन्त्र स्थापनापछि पनि कर्मचारीतन्त्र नयाँ बनाउन सकिएन : पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ । नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरुङले राज्यका सबै संयन्त्रहरूलाई संघीय लोकतान्त्रिक गणतन्त्रमैत्री बनाउनुपर्ने बताएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै गणतन्त्र स्थापनापछि कर्मचारीतन्त्र नयाँ बनाउन नसकेको बताए ।

उनले भने, ‘तीनचार सय वर्ष अगाडि ब्रिटिस लिगेसीमा हुर्केको कर्मचारीतन्त्र, राणा शासन, शाह शासन, पञ्चायतले हुर्काएको यो ब्युरोक्रेसीमा तात्त्विक फरकपन ल्याउन सकेको छैन । त्यसमा लोकतान्त्रीकरण हुन बाँकी छ । त्यसलाई क्रान्तिकारी बनाउन बाँकी छ । जनमुखी, गणतन्त्रमैत्री बनाउन बाँकी छ। नेपाल प्रहरीमा यति धेरै राजनीतीकरण भयो ।’

बहुदलीय कालमा र अहिलेसम्मको अवधिभित्र राजनीतिक दलहरूले प्रहरीलाई पङ्गु बनाएको सांसद गुरुङले बताए । उनले भने, ‘यति धेरै राजनीतीकरण भयो, पार्टीकरण भयो, गुटकरण भयो, व्यक्तीकरण भयो अहिले । नेता–नेताको प्रहरीको हाकिम छन् । प्रहरीले आफ्नो स्वतन्त्र ढंगले काम गर्ने परिस्थिति बनेको छैन अहिले । प्रहरीले आफ्नो औचित्य, सान्दर्भिकता, श्रेष्ठता, पुष्टि गर्न सकेको छैन । किनभने प्रहरीलाई ध्वस्त बनाएका छौँ हामीले ।’

नेपाल प्रहरी वा सशस्त्र प्रहरीलाई लोकतान्त्रीकरण नगरीकन संघीय लोकतान्त्रिक गणतन्त्रले आफ्नो प्रतिफल प्राप्त गर्न नसक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस