काठमाडौं। भारतीय दूतावासले लुम्बिनी विकास कोषसँगको सहकार्यमा वृहत् योग प्रदर्शन गरेको छ ।भगवान गौतम बुद्धको जन्मस्थल र युनेस्को विश्व सम्पदा क्षेत्र लुम्बिनीमा बिहीबार योग प्रदर्शन भएको हो । यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको विषय ‘स्वयम् र समाजका लागि योग’ रहेको थियो।
लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराको प्रमुख आथित्यतामा भएको कार्यक्रममा लुम्बिनी विकास कोषका वरिष्ठ अधिकारीका साथै ९०० भन्दा बढी योगमा रुचि राख्नेहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा मुख्यमन्त्री महराले भगवान बुद्धको पवित्र जन्मस्थलमा महत्त्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिए । यस्ता कार्यक्रमले भारत–नेपाल सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने उनको भनाइ थियो ।स्वस्थ र सन्तुलित समाजको निर्माण गर्न योगबारे अझ बढी चेतना जगाउनुपर्ने उनले बताए ।
यस्तै, भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले गरेको प्रस्तावका आधारमा संयुक्त राष्ट्रसंघले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा तोकेपछि योग एउटा ग्लोबल फेनोमेनन बन्न पुगेको बताए ।
उनले शान्ति र सद्भावको प्रतीक लुम्बिनीको पवित्र भूमिले योगको अनन्त अभ्यासलाई उत्सवको रुपमा मनाउन उपयुक्त वातावरण प्रदान गरेको बताए ।भारतीय दूतावासले हरेक वर्ष लुम्बिनी विकास कोषसँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय योग दिवस लुम्बिनीमा मनाउने राजदूत श्रीवास्तवको भनाइ छ।
भारतीय दूतावासले १० औं अन्तर्राष्ट्रिय योग दिवस नेपालका विभिन्न शहरमा आयोजना गरिरहेको छ ।सोही योजनाअनुसार शुक्रबार (भोलि) पोखरा महानगरपालिकासँगको सहकार्यमा पोखरा रङ्गशालामा योग प्रदर्शनको आयोजना गरिएको दूतावासले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असार २०८१, १३ : ५६
लेखकबाट थप