आन्दोलनरत ट्याङ्कर चालकसँग सहमति, तेल आपूर्ति सुरु

सफल खबर संवाददाता

सोमबार, ०३ असार २०८१, १५ : २१
आन्दोलनरत ट्याङ्कर चालकसँग सहमति, तेल आपूर्ति सुरु

काठमाडौँ । सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा ट्याङ्कर चालकले राखेको मागबारे अध्ययन गर्न समिति गठन गर्ने सहमतिसँगै आन्दोलन फिर्ता भएको हो ।

समितिले १५ दिनमा अध्ययन प्रतिवेदन पेस गर्नुपर्ने छ । सरकार र ट्याङ्कर चालकबिच सहमति भएसँगै तेल आपूर्ति सुरु पनि भएको छ ।  आइतबारदेखि पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालकहरूले आन्दोलन गर्दा देशभर पेट्रोलियम वितरण अस्तव्यस्त बनेको थियो । आफ्ना ट्याङ्कर मालिकसँग राख्नुपर्ने माग उनीहरूले नेपाल आयल निगम र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमक्ष राख्दै आन्दोलनमा उत्रिएका थिए ।

नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले सरकार र निगमसमक्ष विभिन्न ७ बुँदे माग राखेका थिए ।  सम्पूर्ण ट्याङ्कर चालक/सहचालक मजदुरको श्रम ऐनअनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके अनुसारको तलबको व्यवस्था गरिनुपर्ने लगायत सङ्घको माग थियो ।

मन्त्रालय र संघबिच उनीहरूका माग सम्बोधन गर्ने गरी सहमति भएपछि चालकहरूले आन्दोलन फिर्ता लिएका छन् । 

 

 

प्रतिक्रिया दिनुहोस