बालकै देखिन्छिन् उनी । शरीरले किशोरावस्थाको आकार समेत लिइसकेको छैन । गहुँगोरो वर्ण, होचो कद र पातलो शरीर ! गामबेसी गर्दाको पहिरन ! फुंग उडेको मुहार ! बैंसालु उमेरमा आउनुपर्ने चमक छैन । माइती इन्डियाकी इन्चार्ज इन्दिरा पाण्डे र नेपाली जनसम्पर्क समिति, भारतका अध्यक्ष बालकृष्ण पाण्डेको पहलमा कान्छी ‐नाम परिवर्तन) भारतको नयाँ दिल्लीस्थित जिबीरोडबाट हवाई मार्ग भएर नेपाल फर्काइँदै थिइन् ।
असोज ६ गते दिउँसो नेपाल एयरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रँदा उनका वृद्धावस्थाका बाबु पनि सँगै थिए । बाबुछोरीका मनभित्रका असन्तुष्टि मुहारमा झल्कन्थ्यो। उतै बसेर अझ पैसा कमाउने महत्वाकांक्षाले नछाडेकाले भनिन्, ‘फर्काएर के भो म फेरि गइहाल्छु !’ शरीर नेपालमा पुगिसक्दा कान्छीको मन दिल्लीमै थियो ।
मुख दिल्लीतर्फ मोड्न नछाड्दा माइती इन्डिया र प्रहरीले कान्छीलाई अब नेपाल नछाड्न कडा निर्देशन दिनुपरेको थियो । घरपरिवारकै सहयोगमा कान्छी दिल्ली पुगेकी थिइन् । बाबुले समेत रोकेका रहेनछन् कान्छीलाई । उल्टै सहयोगी भूमिका खेलेका रहेछन् ।
कहिले विद्यालय नटेकेकी उनले अक्षर चिन्ने र लेख्न जान्ने कुरै भएन । तर, नुवाकोटको दुर्गम गाउँबाट दिल्लीको जिबीरोडस्थित गल्लीको कोठीसम्म पुगेको घटना उतिकै रोचक छ । भूकम्पबाट नुवाकोटस्थित कान्छीको घरसमेत भत्कियो । तीन दिनसम्म भत्किएको घरभित्र पुरिएकी उनकी आमाको जिउँदै उद्धार भयो । काठमाडौंमा उपचारका लागि ल्याउँदा कान्छी साथमा आइन् ।
उपचारका क्रममा पैसाको कमी हुँदै गयो । होटलमा भाँडा माझ्ने काम गर्न थालिन् उनले। मासिक तीन हजार कमाइ हुन्थ्यो । दुई महिनामात्र भएको थियो उनले काम गरेको। कान्छीलाई एकजना महिलाले लोभ्याइन् ।
ती महिलाले भारतमा काम गर्दा निकै पैसा कमाइने सुनाइन् । गरिबीले थिचिएकी कान्छी लोभिइन् । परिवारका सदस्यको सहयोगमा २०७२ सालको दसैंअगावै उनी सीमा काटिन । चिनेजानेका चारजना दिदीहरू उनको साथमा थिए । उनीहरूकै साथमा रक्सौलबाट रेल चढेर दिल्लीस्थित जिबी रोड पु-याइयो कान्छीलाई ।
यौनकर्मी बन्दा उनी किशोरावस्था पनि टेकेकी थिइनन् । कलिलै उमेरमा उनले जिबी रोडको गल्लीभित्रको कोठीमा शरीरसँग भारु साट्न थालिन्। कलिली भएकीले दिल्लीको यौनबजारमा उनको माग बढ्यो । विपन्न परिवारकी कान्छीका लागि त्यहाँको कमाइ ठूलै थियो । फर्कंदा उनले कानमा लगाएका सुनका मुन्द्रीले पनि कमाइ झल्कन्थ्यो । लस्करे सुन कानभर लगाएकी कान्छीले कमाइबाट निकै सुन खरिद गरेको सुनाइन् । केही सुन उद्धारका क्रममा प्रहरीले लुकाएको दाबी गरिन् ।
उनी दिल्लीको कोठीमा मात्र सीमित भइनन् । मुम्बई र पुनासम्मको यौनबजारमा लगिन्थिन् कान्छी । जिबी रोडमा प्रतिदिन दुईदेखि पाँच हजार भारुसम्मको कमाइ हुने उनले सुनाइन् । दिल्लीबाहिर जाँदा त्योभन्दा बढी कमाइ हुन्थ्यो ।, यो खबर आजकोनागरिक दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १३ असोज २०७५, ०८ : ४२
लेखकबाट थप