संख्यामा भन्दा पनि गुणस्तरमा आधारित पर्यटक भित्र्याउन मापदण्ड बनाऔं : सांसद गौतम

सफल खबर संवाददाता

शुक्रबार, ३२ जेठ २०८१, १५ : २५
संख्यामा भन्दा पनि गुणस्तरमा आधारित पर्यटक भित्र्याउन मापदण्ड बनाऔं : सांसद गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन मापदण्ड बनाउनुपर्ने बताएकी छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गौतमले नेपालमा संख्यामा भन्दापनि गुणस्तरमा आधारित पर्यटक भित्र्याउनुपर्ने बताएकी हुन् । उनले त्यसको लागि मापदण्ड बनाउनुपर्ने पनि बताइन् । उनले नीति नै बनाएर खर्च गर्नसक्ने पर्यटक मात्रै भित्र्याउनुपर्ने बताइन् ।

नेपालको पर्यटनको मुल आधार हिमाल, प्राकृतिक सम्पदा र संस्कृतिहरु रहेका भन्दै त्यहाँ नआउने पर्यटकहरुबाट पर्यटन प्रवद्र्धन नहुने उनले बताइन् । उनले संख्यामा पर्यटक गन्न छोड्नुपर्ने बताइन् ।

सांसद गौतमले ट्रेकिङ टेल मासेर सडकहरु पुर्याइएको भन्दै यसले ट्रेकिङ व्यवसायलाई धरापमा पारेको बताइन् । उनले ट्रेकिङ टेलको रक्षा गर्नुपर्ने बताइन् ।

यस्तो छ सांसद गौतमको भनाइः

बजेट विनियोजन मज्जाले नियालेर हेर्ने हो भने मन्त्री र सांसदहरुबीचको शक्ति संघर्षमा मन्त्रीले सांसदलाई हराएको जस्तो र गर्व गरेको जस्तो देखिन्छ । त्यो बजेटले बोल्ने कुरा हो ।

मन्त्रीहरु बजेटमा उत्कृष्ट हुनुहुन्छ कि, सांसदहरु भन्दा एकदम उत्कृष्ट हो कि, उहाँहरुको ठाउँमा चाहिँ बढी नै पर्नुपर्ने हो कि भन्नेजस्तो भान हुन्छ । टुक्रे बजेटलाई प्रश्रय नदिऔँ । यति धेरै टुक्रे बजेटहरु विनियोजन भएको छ कि एकलाखे बजेटले एउटा लाखे नाच आयोजना गर्न पनि पुग्दैन रहेछ । त्यस्तो किसिमको बजेट विनियोजन भएको देखियो ।

मन्त्रीले मागेजति दिदाँ एकछिन वाहवाही त होला तर नेपालको पर्यटन क्षेत्रमा यसले कतिपनि योगदान दिन सक्दैन । हामीले भुटानमा जस्तो संख्यामा होइन, खर्च गर्न सक्ने पर्यटन भित्राउने किसिमको नीति लिनुपर्छ जस्तो लाग्छ । किनकी नेपालको पर्यटनको मुल आधार भनेको हाम्रो हिमालहरु हुन् । प्राकृतिक सम्पदाहरु हुन् । यहाँका संस्कृतिहरु हुन् ।

यदि यही बचाउनुपर्ने हाम्रो सम्पत्ति एक रुपैयाँ खर्च नगर्ने, उल्टै नेपालमा आएर, नेपालीको घरमा टुटेफुटे बोलेर, बसेर खाएर फिर्ता जाने ब्याकप्याकर्स पर्यटकहरु भित्राएर नेपालको पर्यटन प्रर्वद्धन हुन्छ ? यसले नेपालको पर्यटन नीतिमा केही योगदान पुर्याउँछ ? यसले हामीलाई कहाँ पुर्याउँछ ?

त्यही भएर संख्यामा कति पर्यटक आए भन्ने किसिमको गणनागर्ने छोड्दिनुस् । यदि साँच्चिकै परिवर्तन गर्ने हो भनेदेखि गुणस्तरमा आधारित पर्यटकहरु भित्राउनुपर्छ । त्यसको लागि मापदण्ड तयार गर्ने कुरामा सरकार संवेदनशील हुनुप्यो ।

 

प्रतिक्रिया दिनुहोस