बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता तान्दै राष्ट्र बैंक

सफल खबर संवाददाता

विहीबार, ३१ जेठ २०८१, ११ : ०२
बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता तान्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबार ३५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत १४ दिनका लागि ३५ अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो । 

पछिल्लो समय बैंकिङ क्षेत्रमा बढ्दो निक्षेपको तुलनामा कर्जा लगानी हुन नसक्दा तरलता बढी रहेको छ । गत जेठ २४ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले कूल ६२ खर्ब ३१ अर्ब निक्षेप सङ्कलन गर्दै यता ५१ खर्ब ३३ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् । 

समीक्षा अवधिमा ८०. २० प्रतिशत कर्जा निक्षेप अनुपात (सीडी रेसियो ) कायम गरेका बैंकहरुसँग ५ खर्ब बढी लगानीयोग्य रकम रहेको छ ।  बैंकहरुसँग प्रयाप्त तरलता रहेकैले अन्तर बैंक ब्याजदर २.९५ प्रतिशतमा झरेको छ भने ट्रेजरी बिलको ब्याजदर समेत अधिकतम ३.२१ प्रतिशतमा खुम्चिएको छ । 

जसले गर्दा पनि राष्ट्र बैंकले पछिल्ला दिनहरूमा रिभर्स रिपो अर्थात् निक्षेप सङ्कलन उपकरणमार्फत लगातार बैंकिङ प्रणालीमार्फत तरलता प्रशोचन गरिरहेको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले निक्षेप सङ्कलन पत्र खरिद गर्न सक्नेछन् ।