बङ्गलादेशले स्वीकृत गर्‍यो नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्ने प्रस्ताव

सफल खबर संवाददाता

बुधबार, ३० जेठ २०८१, १५ : ५२
बङ्गलादेशले स्वीकृत गर्‍यो नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्ने प्रस्ताव

काठमाडौँ । बङ्गलादेशको सार्वजनिक खरिदसम्बन्धी मन्त्रीमण्डलीय समिति (सीसीजीपी)ले ४० मेगावाट विद्युत् आयात गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ । मङ्गलवार बङ्गलादेश सचिवालयस्थित मन्त्रिपरिषद् विभागमा अर्थमन्त्री अब्दुल हसन मोहम्मद अलीको अध्यक्षतामा बसेको १५औँ बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको हो ।

बैठकपछि मन्त्रिपरिषद् विभाग (समन्वय र सुधार)का सचिव मोहम्मद हुसेन खानले नेपालबाट ४० मेगावाट बिजुली आयात गर्नेसहित १५ वटा प्रस्ताव स्वीकृत गरेको पत्रकारहरूलाई जानकारी दिएका हुन् ।

प्रतियुनिट ८.१७ बंगलादेशी टाका (९ रुपैयाँ ३० पैसा)मा विद्युत् आयात गरिने बङ्गलादेशका सञ्चारमाध्यमले जनाएका छन् । भारतीय ग्रिड प्रयोग गरी नेपालबाट बिजुली आयात गर्नु पर्ने भएकाले भारतलाई प्रतियुनिट ०.०५९ रुपैयाँ व्यापारिक मार्जिन तिर्नुपर्ने खानले बताएका छन् । बङ्गलादेशले भारतलाई प्रसारण लाइन प्रयोगबापतको शुल्क तिर्नुपर्ने भए पनि मूल्य तय भई नसकेको उनले बताएका छन् ।