काठमाडौँ । माल्दिभ्सले इजरायलका नागरिकमाथि प्रतिबन्ध लगाएको छ । राष्ट्रपति मोहम्मद मुइज्जुले इजरायली राहदानी भएकाहरूलाई प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । गाजामा भएको आक्रमणको विरोधमा माल्दिभ्सले इजरायली नागरिकमाथि प्रतिबन्ध लगाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । तर, यो नयाँ ऐन कहिलेदेखि लागू हुने भन्नेबारे राष्ट्रपति कार्यालयले जानकारी दिएको छैन ।
सोही क्रममा राष्ट्रपतिले प्यालेस्टाइनीहरूलाई सहयोग गर्न पैसा सङ्कलन गर्न सकिने ‘माल्दिभ्स इन सोलिडारिटी विथ प्यालेस्टाइन’ नामक अभियान पनि सुरु गरेका छन् । तर, यो प्रतिबन्धपछि इजरायलले आफ्ना नागरिकहरूलाई माल्दिभ्स नजान चेतावनी पनि दिएको छ ।
राष्ट्रपति मोइज्जुले विपक्षी र सरकारी सहयोगीहरूको दबाबबीच यो कदम चालेका हुन् । इजरायली हमलामा गाजामा हजारौं सर्वसाधारण मारिएपछि विपक्षी र सहयोगीहरूले मालदिभ्सबाट इजरायलीहरूलाई प्रतिबन्ध लगाउन आह्वान गरेका छन् ।
यसैबीच इजरायलको विदेश मन्त्रालयले आफ्ना नागरिकलाई माल्दिभ्स नजान आग्रह गर्दै माल्दिभ्समा रहेका इजरायली नागरिकलाई देश छाड्न चेतावनी दिएको छ । माल्दिभ्समा बसोबास गर्ने इजरायली नागरिकहरूलाई कुनै कारणले समस्या परेमा उनीहरूलाई मद्दत गर्न गाह्रो हुने भएकाले देश छोड्ने विचार गर्न सल्लाह दिएको छ ।
माल्दिभ्स–इजरायल सम्बन्धलाई सामान्य बनाउने प्रयास २०१२ मा समाप्त भएको थियो । जानकारीका अनुसार माल्दिभ्सले सन् १९९० को सुरुमा इजरायली नागरिकमाथिको पुरानो प्रतिबन्ध हटाएको थियो । कूटनीतिक सम्बन्ध पनि २०१० मा पुनर्स्थापित भएको थियो । तर, सन् २०१२ मा पूर्व राष्ट्रपति मोहम्मद नसिदलाई सत्ताबाट हटाएपछि सम्बन्ध सामान्य बनाउने प्रयास पनि समाप्त भयो ।
माल्दिभ्सको अर्थतन्त्रको मुख्य आधार पर्यटन हो । गाजा युद्धले माल्दिभ्सको पर्यटनलाई पनि असर गरेको छ । यस वर्षको पहिलो चार महिनाको तथ्यांक हेर्दा गत वर्षको तुलनामा इजरायलको पर्यटनमा ८८ प्रतिशतले कमी आएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २१ जेठ २०८१, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माल्दिभ्सलाई १३ गोल गर्दै भुटान सेमिफाइनलमा
माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत भ्रमणमा
माल्दिभ्समा तीज कार्यक्रम हुँदै, कमल बीसीदेखि विन्दु परियारसम्मको प्रस्तुति
‘मे १० सम्म भारतीय सेनाले देश छाडने छन्' : माल्दिभ्स राष्ट्रपति