दोस्रो खेलमा लयमा देखियो ब्राजिल

सफल खबर संवाददाता

शनिबार, १५ असार २०८१, १६ : ३६
दोस्रो खेलमा लयमा देखियो ब्राजिल

काठमाडौं। कोपा अमेरिका फूटबल प्रतियोगिताको दोस्रो खेलमा ब्राजिल लयमा देखिएको छ । अमेरिकामा जारी प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा कोस्टारिकासँग गोलरहित बराबरीमा रोकिएपछि ९ पटकको विजेता ब्राजिलको आलोचना भएको थियो । तर उसले दोस्रो खेलमा शानदार जीत निकालेर आलोचना गर्नेहरूलाई जवाफ दिएको छ ।

शनिवार बिहान लास भेगासमा भएको खेलमा ब्राजिलले पाराग्वेलाई ४–१ गोलको फराकिलो अन्तरले हरायो । ब्राजिलको शुरूवात भने राम्रो रहेन । खेलको ३१ औँ मिनेटमा प्राप्त पेनाल्टीलाई लुकास पाक्वेटाले सदुपयोग गर्न सकेनन् । यसले गर्दा ब्राजिल अग्रता लिन चुक्यो ।

तर लगत्तै खेलको ३५ औँ मिनेटमा भिनिसियल जुनियरले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । यसपछि ब्राजिलले लगातार गोल गर्यो । साभियोले ४३ औँ र भिनिसियसले नै पहिलो हाफको अतिरिक्त समयको पाँचौ मिनेटमा गोल गरे । यससँगै ब्राजिल ३–० गोलले अगाडि रह्यो ।

यद्यपि, खेलको ४८ औँ मिनेटमा पाराग्वेले अग्रता साँघुरो बनायो । ओमार अल्डेरेटले गोल गर्दै खेल ३–१ को अवस्थामा ल्याए ।ब्राजिलले फेरि ६५ औँ मिनेटमा पेनाल्टी पायो । यो पटक भने पाक्वेटाले त्यसको सदुपयोग गरेर ब्राजिललाई ४–१ को जीत दिलाए ।

 

 

 

 

 

 

 

खेलको ८१ औँ मिनेटमा आन्द्रेस चुबासले रातो कार्ड खाँदा पाराग्वे १० खेलाडीमा सीमित भयो । तरपनि ब्राजिलले त्यसको फाइदा उठाएर थप गोल गर्न भने सकेन ।ब्राजिल रहेको समूह ‘डी’कै अर्को खेलमा कोलम्बियाले कोस्टारिकामाथि ३–० गोल अन्तरको शानदार जीत दर्ता गर्यो ।

यो समूहमा दुई खेलबाट शतप्रतिशत जीत निकालेको कोलम्बिया ६ अंकसहित नकआउट चरणमा पुगिसकेको छ । पाराग्वेलाई हराएको ब्राजिल ४ अंकसहित दोस्रो स्थानमा छ । कोस्टारिका १ अंकसहित तेस्रो स्थानमा रहँदा अंकविहीन रहेको पाराग्वे एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको छ ।

अब ब्राजिलले कोलम्बियासँग निर्णायक खेल खेल्नेछ । त्यो खेल जितेमा ब्राजिल समूह विजेता बन्दै दोस्रो चरणमा जान सक्छ ।

प्रतिक्रिया दिनुहोस