हेटौंडा। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायहरूलाई निर्देशन दिएका छन् ।
शुक्रबार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा भएको विपद् व्यवस्थापनका लागि संयुक्त कृत्रिम अभ्यास कार्यक्रममा बोल्दै उनले मातहतका सुरक्षा निकायलाई यस्तो निर्देशन दिएका हुन् ।
उनले मनसुन शुरू हुन लागेको भन्दै मनसुनजन्य विपद्बाट बच्नका लागि उच्च सतर्कता अपनाउन प्रदेशबासीलाई आग्रह पनि गरेका छन् ।मनसुनजन्य विपत्ति सामना गर्न प्रदेश सरकारले आवश्यक पूर्वतयारी गरेको उनले जानकारी दिए ।
उनले हेटौंडा, धुलिखेल र विदुरमा विपद् सामग्रीहरू भण्डारण गरिएको, सरकारको ३ वटै तह, ३ वटै सुरक्षा निकाय र सम्बद्ध संघसंस्थाहरूसँग समन्वय गर्दै विपद् पूर्वतयारीको कामलाई अगाडि बढाइरहेको बताए ।
मन्त्री श्रेष्ठले समाजमा विपद् सुरक्षा संस्कृति निर्माण गर्नसके मानवजन्य विपत्ति नियन्त्रण र प्राकृतिक विपत्तिलाई न्यूनीकरण गर्न सकिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ जेठ २०८१, १६ : ५०
लेखकबाट थप