जापानमा जन्मदर घटेर कीर्तिमानी न्यून बिन्दुमा

सफल खबर संवाददाता

शुक्रबार, २५ जेठ २०८१, १३ : १६
जापानमा जन्मदर घटेर कीर्तिमानी न्यून बिन्दुमा

टोकियो । जापानमा जन्मदर घटेर नयाँ कीर्तिमानी न्यून बिन्दुमा ओर्लिएको छ । सरकारले युवा पुस्तालाई विवाह गर्न र परिवारको योजना बनाउन प्रोत्साहित गर्ने गरी अनेकौं उपायहरू अपनाइरहेको भएपनि जन्मदर झन् झन् घट्दै गएको छ ।

गएको वर्ष जापानमा ७ लाख २७ हजार २७७ शिशु जन्मिएको स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

योसँगै प्रजनन दर अघिल्लो वर्षको १ दशमलव २६ बाट झरेर समीक्षा अवधिमा १ दशमलव २ मा आएको छ । जनसंख्या स्थिर रहन प्रजनन दर २ दशमलव १ हुनु पर्छ । योभन्दा धेरै भएमा जनसंख्या बढ्छ भने थोरै भएमा घट्न थाल्छ ।

सन् १९७३ मा विश्वव्यापी तेल संकटका कारण जापानसमेत कयौं अर्थतन्त्रहरु मन्दीमा फसे । त्यसपछि जापानमा प्रजनन दरमा सुधार आएन । आधा शताब्दीदेखि जापानमा प्रजनन दर २ दशमलव १ भन्दा तल नै रहेको छ ।

हालैका वर्षमा प्रजनन दर घट्ने क्रम झनै तीव्र बनेको छ । वर्षेनी जन्मिएका भन्दा मर्नेको संख्या धेरै रहँदा कूल जनसंख्या खुम्चिँदै गइरहेको छ । सन् २०२३ मा जापानमा १५ लाख ७० हजारको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको डेटाले देखाएको थियो ।

यो सो वर्ष जन्मिएका शिशुको भन्दा झन्डै दोब्बर थियो । दुःखको कुरा जापानमा विवाह गर्नेको संख्या घटिरहँदा सम्बन्ध विच्छेद गर्नेको संख्या भने बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस