जलवायु परिवर्तनको असर न्यूनीकरणमा योगदान गर्न विश्व समुदायलाई राष्ट्रपतिको अपिल

सफल खबर संवाददाता

बुधबार, २३ जेठ २०८१, १० : ५९
जलवायु परिवर्तनको असर न्यूनीकरणमा योगदान गर्न विश्व समुदायलाई राष्ट्रपतिको अपिल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणमा योगदान गरेर भाबी पुस्ताको भविष्य सुरक्षित गर्न विश्व समुदायलाई अपिल गरेका छन् ।

विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले विश्वव्यापी उष्णताको बढ्दो प्रभावबाट हिमशृङ्गखला र हिमतालमा आएको परिवर्तनले तल्लो तटीय क्षेत्रमा बाढी पहिरो लगायतको प्रकोपहरू बढेको भन्दै असर न्यूनीकरणमा योगदान गर्न अपिल गरे । 

‘जलवायु परिवर्तन, प्रदूषण र जैविक विविधताको ह्रासजस्ता अन्तरसम्बन्धित संकटहरूसँग नेपाललगायत सम्पूर्ण विश्व जुधिरहेको छ । एक्लो प्रयासले यी संकटहरू समाधान हुन सक्दैनन् भन्ने कुरामा हामी प्रष्ट छौं,’ उनले भने ।

उनले गत वर्ष संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नेपालको भ्रमणका अवसरमा भनेको कुरा स्मरण गर्दै उनकै शब्दमा जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपाललगायत अन्य पर्वतीय मुलुकहरू एउटा विश्वव्यापी संकटको भूमरीमा फसेको बताए ।

'जसको सृजनामा उनीहरूको आफ्नै योगदान नगण्य छ । म आह्वान गर्न चाहन्छु कि यस गम्भिर मुद्दालाई सम्बोधन गर्न विश्व समुदाय एकत्रित भएर लागौँ । हामीलाई अझै ढिला गर्ने सुविधा छैन ।’

प्रतिक्रिया दिनुहोस