नेपालको यू-१९ विश्वकप सपना: निर्णायक भिडन्तमा आज अफगानिस्तानलाई हराउनैपर्ने दबाब

सफल खबर संवाददाता

शनिबार, ०६ बैशाख २०८२, ०७ : ३८
नेपालको यू-१९ विश्वकप सपना: निर्णायक भिडन्तमा आज अफगानिस्तानलाई हराउनैपर्ने दबाब

काठमाडौं । सन् २०२६ को आइसिसी यू-१९ विश्वकप क्रिकेट खेल्न नेपाल एक खेलले टाढा छ। आज काठमाडौंको मुलपानी मैदानमा अफगानिस्तानसँग नेपाली युवा टोलीले निर्णायक भिडन्त गर्दैछ। यो एक खेल जिते नेपालले २०२६ मा आईसीसी विश्वकप क्रिकेट खेल्नेछ।

नेपाल र अफगानिस्तानले तीन खेलबाट समान ६ अंक बनाएका छन्। यी दुई टोलीको भिडन्तको विजेताले अर्को वर्ष जिम्बावे र नामिबियाले आयोजना गर्ने विश्वकपमा स्थान बनाउने छन्।

मूलपानीको तल्लो क्रिकेट मैदानमा भइरहेको छनोट प्रतियोगिताको शीर्ष दुई स्थानमा नेपाल र अफगानिस्तान पुगेका हुन्। प्रतियोगितामा सहभागी हङकङ, ओमान र युएई अंकविहीन छन् ।

लगातार तीन खेलमा विजयी भएका दुवै देश उच्च मनोबलका साथ निर्णायक भिडन्तका लागि शनिबार मैदानमा हुनेछन्। यसअघि नेपालले ओमानलाई आठ विकेटले, यूएईलाई डिएल पद्धतिमा पाँच रनले हराउँदा हङकङमाथि नौ विकेटको सानदार जित निकालेको थियो।

त्यसैगरी निर्णायक भिडन्तमा आइपुगेको अफगानिस्तानले पहिलो खेलमा ओमान र दोस्रो खेलमा हङकङलाई समान आठआठ विकेटले हराउँदा तेस्रो खेलमा यूएईविरुद्ध डिएलपद्धतिमा १८० रनको जित निकालेको छ।

नेट रनरेटका आधारमा अफगानिस्तानले नेपाललाई पछि पारेको छ । शनिबार हुने महत्वपूर्ण खेल वर्षाले प्रभावित भएमा नेपाललाई घाटा हुनेछ। खेल शनिबार बिहान ९ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस