एजेन्सी । भारतीय जनता पार्टी (भाजपा) भारतको लोकसभामा बहुमत ल्याउनबाट चुकेको छ । भाजपाले २४० सिटमा जीत हात पारेको छ । ५४३ सदस्यीय लोकसभामा बहुमतका लागि २७३ सिट चाहिन्छ ।
भारतको बहालवाला प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपाबाट २४१ सांसद निर्वाचित भएका छन् । चुनावी परिणामसँगै उनले उल्लेख्य शक्ति गुमाएका छन् । बीजेपीले अघिल्लो चुनावको तुलनामा यसपालि लोकसभामा २० प्रतिशतभन्दा बढी शक्ति गुमाएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । अघिल्लो लोकसभा चुनावमा भाजपा एक्लैले ३०३ सिट जितेको थियो ।
यसपालि बीजेपीले आफ्नो शक्ति अझै विस्तार गर्ने र ४०० भन्दा बढी सिट ल्याउने दाबी गरेको थियो । उसको चुनावी नारा र लक्ष्य नै ‘चार सौ पार’ थियो ।
भाजपा एक्लैले सरकार बनाउन सम्भव नभए पनि उसको नेतृत्वको गठबन्धन नेसनल डेमोक्रेटिक एलायन्स (एनडीए)ले भने बल्लतल्ल बहुमत सिट जितेको छ । उनीहरूलाई मौजुदा सत्ता जोगाउन पनि संघर्ष गर्नुपर्ने अवस्था आएको छ । भाजपा नेतृत्वको गठबन्धन एनडीएले कुल २९३ सिट जितेको टाइम्स बफ इन्डियाले जनाएको छ । यी सबै सिट दुरुस्त रहेमा भाजपालाई बहुमतको सरकार बनाउन कठिन हुने छैन ।
विपक्षी कांग्रेसले पनि ९९ सिट मात्रै प्राप्त गरेको छ । कांग्रेसको ९९ सहित विपक्षी गठबन्धनले २३४ सिट जितेको समाचारमा उल्लेख छ । अन्य पार्टीहरूले १६ सिट जितेका छन् । समाजवादी पार्टी (सपा) ३७ सिटसहित तेस्रो दल बनेको छ ।
सन् २०१४ मा भएको लोकसभा निर्वाचनमा पनि बीजेपी निकै बलियो भएर उदाएको थियो भने कंग्रेसले अनपेक्षित परायजका बेहोर्दै निकै कमजोर बन्न पुगेको थियो । भारतमा १० वर्षपछि संसदमा विपक्षी बेन्च बलियो देखिने भएको छ । अब सरकार मोदीले नै बनाए पनि संसदमा बलियो विपक्षीको सामना गर्नुपर्नेछ ।
एनडीएले आज सरकार गठनको दाबी पेश गर्न सक्ने समाचारमा उल्लेख छ । मोदीले आफ्ना घटक दलहरुको बैठक बोलाएका छन् । प्रधानमन्त्री मोदीले बिहारका मुख्यमन्त्री नितिश कुमार र आन्ध्र प्रदेशका पूर्वमुख्यमन्त्री चन्द्रबाबु नायडूलाई भेट्न बोलाएका हुन् ।
चुनावी परिणामपछि प्रधानमन्त्री मोदीले सबै एकजुट हुँदा पनि विपक्षीहरूले भाजपा एक्लैको जति सिट जित्न नसको बताएका छन् । मंगलबार साँझ दिल्लीस्थित बीजेपी कार्यालय पुगेका उनले भने, ‘आज भावनात्मक दिन हो । आमा गएपछि यो मेरो पहिलो चुनाव थियो । देशका जनताले मलाई आमाको अभाव हुन दिएनन् । देशका आमा दिदीबहिनीले मलाई नयाँ प्रेरणा दिनुभएको छ,' उनले भने, ‘हाम्रा विपक्षीहरू एकजुट भए पनि भाजपाले एक्लै जितेको सिट उनीहरूले जित्न सकेनन् ।'
यस्तै विपक्षी गठबन्धनका नेता राहुल गान्धीले मतदातालाई धन्यवाद दिएका छन् । भएको सुधारबाट हौसिएको कंग्रेसले मंगलबार दिउँसै पत्रकार सम्मेलन गरी यो जनमत मोदीको विपक्षमा रहेको घोषणा गरिसकेको छ ।
विभिन्न मितिमा सात चरणमा भएको मतदानमा कुल ९६ करोड ८० लाख मतदातामध्ये ६४ करोड २ लाख मतदाताले मतदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २३ जेठ २०८१, ०७ : २३
लेखकबाट थप