काठमाडौँ । गण्डकी प्रदेशमा यही जेठ २१ र २२ गते श्रमाधान रोजगार मेला हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखराको पोखरा इभेन्ट सेन्टरमा हुन लागेको हो ।
मेलाको आवश्यक तयारी पुरा भएको छ । उक्त मेलाको संयोजन होटल संघ नेपाल (हान) र सह–आयोजकमा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ लगायतका सरोकारवाला संस्थाहरू रहेका छन् ।मेलाबारे जानकारी दिन श्रम तथा रोजगार कार्यालय पोखरामा शनिवार आयोजित पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव शारदा भण्डारीले तयारी अन्तिम चरणमा पुगेको बताइन् ।
आन्तरिक रोजगारी प्रवर्द्धन र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने, श्रम र रोजगारको क्षेत्रमा रहेका बहुआयामिक समस्याहरूलाई एकद्वार प्रणालीबाट सम्बोधन गर्दै रोजगारीको लागि अनुकूल वातावरण सृजना गर्नु मेलाको उद्देश्य रहेको उनको भनाइ छ ।
मेलामा रोजगार दिने र रोजगारी खोज्नेहरूबिच प्रत्यक्ष भेट हुने र रोजगारी सिर्जनाको वातावरण उपलब्ध हुने उपसचिव भण्डारीले बताइन् । श्रम तथा रोजगार कार्यालयका प्रमुख वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले मेलाको तयारी अन्तिम चरणमा पुगेको बताए ।
मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरूको सम्बन्धमा डाटाबेस निर्माणमा योगदान गर्ने उनको भनाइ छ । मेलामा रोजगारदाताहरूको सूचीकरण र रोजगारीका अवसरको पहिचान गरिने बताए ।
मेलामा विभिन्न प्रकारका बुथ तथा स्टलहरू राखिनेछन् । जसमा बायोडाटा निर्माण सिकाइ बुथ, विभिन्न रोजगारदातासँग सम्बन्धित बुथ, वैदेशिक रोजगार बुथ, कल सेन्टर बुथ, लगायतका कम्तीमा ३५ वटा स्टल तथा बुथहरू हुनेछन् । प्रदेश भित्रका ठुला सम्भावित रोजगारदाताको पहिचान गरेर सरकारी तर्फबाट ८ देखि १० वटा र निजी क्षेत्रका २० देखि २५ वटा स्टलहरू हुनेछन् ।
श्रम र रोजगारसँग सम्बन्धित कार्यशाला गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम हुनेछन् । जसमा सीप विकास तथा क्षमता अभिवृद्धि, सामाजिक सुरक्षा, सुरक्षित आप्रवासन, श्रम कानुन र रोजगारदाता तथा रोजगार खोजी गर्नेको आवश्यकता सम्बन्धी अन्तरक्रिया हुनेछ । त्यस्तै स्थानीय संस्कृति झल्किने खालका सांस्कृतिक कार्यक्रम समेत हुनेछन्।
श्रमाधान रोजगारको संयोजक समेत रहेकी उपसचिव भण्डारीले मेलाले बाध्यात्मक वैदेशिक रोजगारी कम गर्न सहयोग पुग्ने बताइन् ।‘मेलाले आजको भोलि नै देशभित्र नै रोजगारी दिन्छ भन्ने होइन । यो सुरुवात हो । यसले बाध्यताले वैदेशिक रोजगारीमा जाने नेपाली दाजुभाइको बाध्यता बिस्तारै कम गर्ने सरकारको उद्देश्य हो । यो सुरुवात मात्रै हो,’ भण्डारीले भनिन् ।
सीप र विकासलाई रोजगारदाता र रोजगार खोज्नेहरूसँग जोड्न मेलाले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।होटल संघ नेपाल कास्कीका अध्यक्ष हरि शर्मा गैरेले मेलाले कामदार खोजिरहेका निजी क्षेत्रका लागि महत्त्वपूर्ण भएको बताए ।
श्रमाधान रोजगार मेलामा सहभागी हुन अनलाइन दर्ता प्रणाली मार्फत रोजगारदाता सूचीकरण हुन र रोजगारीको खोजीमा रहेका व्यक्तिले दर्ता गर्न सकिने व्यवस्था छ । साथै मेलाको भ्रमण गरी त्यही म्यानुअलमा र अनलाइनबाट समेत दर्ता गर्ने सकिने व्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ जेठ २०८१, १६ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरियन सहयोगमा प्राविधिक शिक्षालय निर्माण गर्न सम्झौता
एकीकृत समाजवादी गण्डकी प्रदेशको प्रथम अधिवेशन पोखरामा
म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना
प्रधानमन्त्रीको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव
गण्डकीका भौतिक मन्त्रीको सम्पत्ति : ५ सेट हिरा, ९५ तोला सुनसहित करोडौँ पर्ने जग्गा
गण्डकीका वन मन्त्री भेषबहादुरद्वारा शपथ ग्रहण