बिहीबारदेखि सुरू हुँदै श्रमाधान रोजगार मेला, प्रधानमन्त्रीले उद्घाटन गर्ने

सफल खबर संवाददाता

बुधबार, १६ जेठ २०८१, ११ : २४
बिहीबारदेखि सुरू हुँदै श्रमाधान रोजगार मेला, प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं । बिहीबारदेखि ‘श्रमाधान रोजगार मेला’ सुरु हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोशी प्रदेशको विराटनगरदेखि मेलाको शुरुवात गर्ने भएको हो । मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको छ ।

मेला देशको सातैवटा प्रदेशमा आयोजना गरिनेछ । प्रत्येक प्रदेशमा दुई/दुई दिन सञ्चालन हुनेछ । जेठ ३० गते बागमती प्रदेशको ललितपुरमा सम्पन्न हुने मेलाको सम्पूर्ण तयारी भएको मन्त्रालयका प्रवक्ता एवम् सहसचिव गोविन्द्र प्रसाद रिजालले बताए ।

युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने ध्येयका साथ आयोजना गरिएको मेलाको मुख्य उद्देश्य रोजगारी सिर्जनाका लागि सरकारी र नीजि क्षेत्रबीचको साझेदारीलाई प्रवर्द्धद्धन गरेर लैजानु हो । मेलालाई सीप तथा क्षमता विकासका सम्भावना र उपयोगका लागि मध्यस्थता गर्ने प्लेटफर्मका रुपमा लिइएको छ ।

अर्थात्, रोजगार मेला कामको खोजीमा रहेका युवा र रोजगारदाताको मिलनबिन्दु स्थल हुनेछ । समग्रमा, नेपाल सरकारले परिकल्पना गरेको आर्थिक समृद्धि हासिल गर्न ‘श्रमाधान रोजगार मेला’को महत्वपूर्ण भूमिका रहने उनले बताए ।