काठमाडौँ । स्वर्गीय भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको छ । स्व गायक आचार्यका छोरा सत्यराज आचार्यले चलचित्रलाई आगामी असार ७ गतेदेखि नेपालभर प्रदर्शन गरिने जानकारी दिए ।
“यो चलचित्र हामीले १३ वर्ष अगाडि नै प्रदर्शन गरेका थियौँ । त्यसबेला डिजिटल प्रविधिका चलचित्र भवन कम हुनुका साथै यस्ता चलचित्रका दर्शक कम थिए । अहिले बुबाको चलचित्रलाई पुनः प्रदर्शन गर्न आग्रह आएपछि हामीले प्रदर्शन गर्न लागेका हौँ”, गायक तथा अभिनेता आचार्यले भने ।
चलचित्रमा सत्यराज नै पिताको भूमिकामा छन् । चलचित्रमा स्व गायक आचार्यको जीवनीका हरेक पाटालाई देखाइएको उनले बताए । उनले भने, “यो बुबालाई एउटा श्रद्धाञ्जली पनि हो । हामीले नयाँ चलचित्रझैँ यसको प्रदर्शन गर्दैछौँ । यो हेर्नेले बुबाको जीवनीलाई बुझ्न पाउनुहुनेछ ।”
स्वर्गीय आचार्यका छोरा गायक स्वरूपराज आचार्यले १३ वर्षअघिको समय चलचित्र प्रदर्शनका लागि सही समय नभएको बताए । उनले भने, “त्यस समयमा दर्शकको रोजाइमा परम्परागत चलचित्र पर्थ्यो । त्यो समय सही थिएन कि भन्ने हामीलाई लागिरहेको थियो । हामीले गत वर्ष केही शो गर्दा पनि यसलाई पुनः प्रदर्शन गर्न आग्रह गरिएको थियो । त्यसकारण पुनः प्रदर्शनको तयारी गरेका हौँ ।”
निर्देशक प्रशान्त रसाइलीले निर्देशन गरेको चलचित्रमा गायक आचार्यसँगै सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ललगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रलाई पुनः सम्पादन गरी प्रदर्शन गरिनेछ । गायक आचार्यको ८२ वर्षको उमेरमा गत फागुन १४ गते निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ जेठ २०८१, १० : ३४
लेखकबाट थप