मणिपुरमा भारतीय प्रहरीमाथि कुकी समूहको आक्रमण, २ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १५ बैशाख २०८१, १४ : ५२
मणिपुरमा भारतीय प्रहरीमाथि कुकी समूहको आक्रमण, २ जनाको मृत्यु

काठमाडौं। भारतको मणिपुरमा सन्दिग्ध कुकी समूहको आक्रमणमा परी दुई प्रहरीको मृत्यु भएको छ ।शनिवार बिहान मणिपुरको विष्णुपुर जिल्लामा केन्द्रीय रिजर्भ प्रहरी फोर्स (सीआरपीएफ) बसेको शिविरमा आक्रमण भएको हो । उक्त आक्रमणमा थप दुई प्रहरी अधिकारीहरू घाइते भएका छन् ।

आक्रमणकारीले मोइराङ प्रहरी चौकी क्षेत्रको नरसेनामा रहेको सीआरपीएफ शिविरमा आक्रमण गरेको प्रहरी अधिकारीले पुष्टि गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

'आतंकवादीहरूले शिविरलाई लक्षित गर्दै पहाडको माथिल्लो भागबाट अन्धाधुन्ध गोलीबारी गरे,' एक वरिष्ठ प्रहरी अधिकारीको भनाइ उद्धृत गर्दै स्थानीय सञ्चार माध्यम अर्गनाइजरले भनेको छ, 'आक्रमण मध्यरात साढे १२ बजे शुरू भएर सवा २ बजेसम्म चलेको थियो ।'

 

 

उक्त सञ्चार माध्यमले कुकी समूह यो आक्रमणमा संलग्न भएको दाबीसमेत गरेको छ । सीआरपीएफका सब इन्स्पेक्टर एन सरकार र हेड कन्स्टेबल अरूप सैनीको मृत्यु भएको वरिष्ठ प्रहरी अधिकारीको भनाइ छ । घाइते हुनेमा इन्स्पेक्टर जादव दास र हवल्दार अफताब दास रहेका छन् ।

'दुई घाइते कर्मचारीहरूलाई इम्फालको क्षेत्रीय चिकित्सा विज्ञान संस्थानमा भर्ना गरिएको छ । तिनीहरू खतरामुक्त छन्,' ती अधिकारीले भने ।भारतको मणिपुरमा लामो समयदेखि जातीय युद्ध चलिरहेको छ ।

कुकी र मैतेई जातिबीच भएको द्वन्द्वका कारण भर्खरै शुरू भएको भारतको लोकसभा निर्वाचनसमेत प्रभावित बनेको छ ।

प्रतिक्रिया दिनुहोस