रासायनिक मलका लागि कतारसँग जीटुजी सम्झौतामा जोड

सफल खबर संवाददाता

मंगलबार, ११ बैशाख २०८१, १५ : ५६
रासायनिक मलका लागि कतारसँग जीटुजी सम्झौतामा जोड

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा रासायनिक मल खरिदका लागि सम्झौता हुनुपर्ने  सरोकारवालाले जोड दिएका छन्। तर, नेपाली पक्षको उदासीनताका कारण भ्रमणकै क्रममा यस सम्बन्धी सम्झौता नहुने देखिएको छ ।

बुधबार हुने कतारी अमिर र प्रधानमन्त्री प्रचण्डसँगबिचको छलफलको एजेन्डामा रासायनिक मल पनि राखिएको थियो । रासायनिक मलमा नेपाल–कतार बिच जीटुजी सम्झौता हुने भनेर दुई पक्षबिच छलफल पनि भएको थियो । तर तयारी नपुगेको कारण यस पटक त्यसमा सम्झौता नहुने देखिएको स्रोतले जनाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द शर्माले रासायनिक मलमा जीटुजी गर्ने विषयमा केही पहिले कतारबाट एउटा पत्र आएको बताए । तर यसमा उल्लेख्य प्रगति नभएको बताउँदै उनले कतारी अमिरको भ्रमणका क्रममा पनि यसबारे चर्चा चलेपनि ठोस प्रगति हुन नसकेको उनले बताए । कृषि मन्त्रालयले भारतसँग जीटुजी सम्झौता गरिसकेको अवस्थामा अर्को थर्ड कन्ट्रीसँग तत्कालै सम्झौता नहुने उनको भनाइ छ ।

तर, रासायनिक मल उत्पादनमा कतारले राम्रो गरेकाले त्यहाँबाट जीटुजी सम्झौता गरी मल ल्याउन सके राम्रो हुने मन्त्रालयकै अधिकारीहरू बताउँछन् । जीटुजी सम्झौता गरी मल ल्याउन नसकेपनि बोलपत्रबाट त्यहाँबाट मलहरू आइरहेको कृषि मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता तथा कतारका स्थापित व्यवसायी राजेन्द्र कुमार शर्मा (आरके) ले नेपाल र कतारबिच जीटुजीमार्फत मल खरिदको सम्झौता हुनुपर्नेमा जोड दिए । 

उनले भने, ‘नेपालमा बर्सेनि रासायनिक मलको हाहाकार हुने गरेको छ । दुई देशबिच खरिद सम्झौता हुन सकेको खण्डमा नेपाली किसानले अहिले जारी समस्याबाट मुक्ति पाउन सक्छन् ।’यसमा नेपाली पक्षले चासो दिनुपर्नेमा जोड दिँदै उनले कतारी अमिरको भ्रमणका क्रममा मल खरिद बारे सम्झौता हुनुपर्नेमा जोड दिए ।

कतारले युरिया मल  निर्यात गर्दै आएको छ । तत्काल जीटुजी माध्यमबाट सम्भव नहुने अवस्था रहेको खण्डमा निजी क्षेत्रबाट पनि आयातका लागि ढोका खुला गरिनुपर्नेमा व्यवसायीहरूको जोड छ ।

मलका लागि जीटुजी सम्झौता हुन नसकेमा मल कारखानाका लागि नै पहल गर्नुपर्ने पनि बताइएको छ । ‘लगानी सम्मेलन पनि हुन गइरहेको छ, कतारले मल कारखाना खोल्नमा लगानी गर्दा राम्रै हुन्छ’, कृषि मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस