उपनिर्वाचन सुरक्षाका लागि आयोगको ६ बुँदे निर्णयः आचारसंहिता उल्लंघन गरे उम्मेदवारलाई तत्कालै कारबाही

सफल खबर संवाददाता

मंगलबार, २७ चैत्र २०८०, १६ : २७
उपनिर्वाचन सुरक्षाका लागि आयोगको ६ बुँदे निर्णयः आचारसंहिता उल्लंघन गरे उम्मेदवारलाई तत्कालै कारबाही

काठमाडौं। निर्वाचन आयोगले आगामी वैशाख १५ मा इलाम–२ र बझाङ प्रदेशसभा १ (१) मा हुन गइरहेको उपनिर्वाचनका लागि सुरक्षासम्बन्धी ६ बुँदे निर्णय गरेको छ ।

मंगलवार बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको सिफारिश गरेअनरुप निर्वाचन सुरक्षासम्बन्धी ६ बुँदे निर्णय गरिएको सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन्

जसअनुसार राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सम्बन्धमा सुरक्षा निकायले सूचना लिने र आचारसंहिता उल्लंघन गरेको पाइए तत्काल कारबाही गर्न सकिने छ ।

‘निर्वाचन आचार संहिता, २०७९ को दफा ४२ बमोजिम आचारसंहिताको पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सम्बन्धमा नेपाल प्रहरी, अन्य सुरक्षा निकाय, कुनै कार्यालय वा व्यक्तिमार्फत आवश्यक सूचना र विवरण लिई तत्काल कारबाही गर्ने,’ बुँदा नम्बर १.१ मा उल्लेख छ ।

 

 

वैशाख २ गतेदेखि उपनिर्वाचन र मतगणना सम्पन्न नभएसम्म उपनिर्वाचन हुने जिल्लाभित्र मदिराजन्य पदार्थ बिक्री–वितरण तथा सेवनलाई नियन्त्रण गर्ने गराउने व्यवस्था मिलाउन गृह मन्त्रालयमा अनुरोध गर्नेलगायत निर्णय छन् ।

आयोगका प्रमुख निर्वाचन आयुक्तको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले उपनिर्वाचनको सुरक्षाका सम्बन्धमा हालसम्मको तयारीका सम्बन्धमा छलफल तथा समीक्षा गरिएको विज्ञप्तिमा जनाइएको छ ।

बैठकमा निर्वाचन आयोगका आयुक्तहरू, निर्वाचन आयोग, गृह मन्त्रालय र रक्षा मन्त्रालयका सचिवहरू, नेपाली सेनाका बलाधिकृत रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकलगायत सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस