टोलदेखि केन्द्रसम्म सङ्गठन सुदृढीकरण अभियान सुरु गर्छौं : उपसभापति खड्का

सफल खबर संवाददाता

शनिबार, २४ चैत्र २०८०, १६ : ०२
टोलदेखि केन्द्रसम्म सङ्गठन सुदृढीकरण अभियान सुरु गर्छौं : उपसभापति खड्का

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्वबिच सम्बन्ध सुमधुर हुनुपर्ने बताएका छन् । उनले पार्टीको चुनाव चिन्ह लिएर निर्वाचित भएका जनप्रतिनिधिले नै पार्टीलाई बिर्सन थालेको अनुभूति हुँदै गएको बताउँदै विधानमा व्यवस्था भए अनुसार जनप्रतिनिधि र पार्टी प्रतिनिधिबिच नियमित मासिक बैठक बस्नुपर्ने आवश्यकता ओैल्याए ।

‘जित्नका लागि पार्टीको टिकट चाहिने, जिताउन सिङ्गो पार्टी पंक्ति चाहिने, कार्यकर्ताले निर्वाचन अवधिभर पसिना बगाउनुपर्ने’, शनिबार नेपाली कांग्रेस सुर्खेतले आयोजना गरेको स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र पार्टीको सम्बन्ध विषयक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति खड्काले भने, ‘अनि निर्वाचित भइसकेपछि पार्टी, पार्टी पंक्ति  र कार्यकर्तालाई भुल्ने परिपाटीको अन्त्य हुन जरुरी छ ।’

उपसभापति खड्काले पार्टी विधानले व्यवस्था गरेअनुसार नियमित बैठकहरू बसेर जनप्रतिनिधि र पार्टीबिचको सम्बन्ध सुमधुर हुन आवश्यक रहेको बताए । ‘निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्वबिच छलफल भएर गरिएका निर्णयमा पार्टीको पनि अपनत्व हुन्छ,’ उनले भने, ‘यसले पार्टी सङ्गठन निर्माणमा पनि महत्त्वपूर्ण काम गर्छ ।’

खड्काले निर्वाचनका बेला कांग्रेसको चुनाव चिन्ह बोकेर मत माग्न जाँदा जनतासँग गरिएका बाचाहरू पाँच वर्षभित्र पूरा गर्ने प्रतिबद्धता जनाए । ‘स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा मतदातासँग मत माग्न जाँदा हामीले जे(जे कुराहरू बोलेका थियौँ, ती सबै कुरा पाँच वर्षभित्र पूरा गरेर छोड्छौँ,’ उनले भने, ‘निर्वाचनका बेला गरिएका बाचा अनुसार भइरहेका कामहरूका बारेमा पार्टी नेता तथा कार्यकर्ताहरूले जनताको बीचमा जानकारी गराउन आवश्यक छ ।’

उपसभापति खड्काले हालै सम्पन्न पार्टीको महासमिति बैठकले दिएका सुझावलाई समेटेर अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकले पारित गर्ने बताए । ‘महासमिति बैठकबाट प्राप्त सुझावलाई केन्द्रीय समितिको बैठकले पारित गरेपछि पुस्तकको रूप दिएर देशभरका पार्टी कार्यकर्ताको हात हातमा पुर्याउँछौं,’ उनले भने, ‘महासमिति बैठकको सुझावका आधारमा टोलदेखि केन्द्रसम्म सङ्गठन सुदृढीकरण र पार्टी पुनर्निर्माण अभियान सुरु गर्छौं ।

प्रतिक्रिया दिनुहोस