कर्णालीको मुख्यमन्त्रीमा दाबी पेश गर्दै एमालेका कँडेल

सफल खबर संवाददाता

विहीबार, २२ चैत्र २०८०, १२ : ०८
कर्णालीको मुख्यमन्त्रीमा दाबी पेश गर्दै एमालेका कँडेल

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्ने भएका छन् ।

प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष दिएको लिखित राजीनामा स्वीकृत गरी नयाँ सरकार गठनका लागि आह्वान गरिएको थियो ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कर्णाली प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदका लागि दाबी पेश गर्न प्रदेश प्रमुख परियारले आह्वान गरेका छन् ।

प्रदेश प्रमुखको आह्वानअनुसार बिहीबार नेता कँडेलले सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को समर्थन लिएर मुख्यमन्त्री पदका लागि दाबी पेस गर्ने एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाईँले जानकारी दिए ।“माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेताको समर्थन लिएर आजै प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्न जान्छौं”, उनले भने ।

कर्णाली प्रदेश प्रमुख परियारले मुख्यमन्त्री पदका लागि यही चैत २७ गते बेलुका ५:५० बजेभित्र दाबी पेस गरिसक्नुपर्ने गरी समयसीमा तोकेका छन् ।प्रदेश प्रमुख परियारले बुधबार विज्ञप्ति जारी गर्दै अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्ले नै कार्यसञ्चालन गर्नेगरी जिम्मेवारी तोकेका छन् ।