काठमाडौं। नेपाल विद्युत प्राधिकरणले तनहुँको मार्की चोकदेखि चितवनको नयाँ भरतपुरसम्मको २२० केभी प्रसारण लाइन निर्माण सक्न ताकेता गरेको छ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके सम्मिलित टोलीले प्रसारण लाइन र सबस्टेसन निर्माणको अनुगमन गर्दै कामलाई तीव्रता दिन निर्देशन दिएका हुन् ।
वर्षा यामको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि मार्कीचोक–नयाँ भरतपुर प्रसारण लाइन महत्त्वपूर्ण रहेकाले निर्माणलाई तीव्रता दिन आग्रह गरिएको प्राधिकरणले जनाएको छ ।
टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग छलफल गरी निर्माणको अवस्था, बेहोरिरहेका समस्या, निर्माण सम्पन्न हुन समय तालिकालगायतका विषयमा जानकारी लिएको थियो ।
आयोजनाका तर्फबाट वन क्षेत्रको जग्गा प्रयोग र रुख कटान स्वीकृतिका रहेको कानूनी लामो प्रक्रिया, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भइरहेको जानकारी गराइएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले मार्कीचोक–नयाँ भरतपुर खण्ड आगामी असारभित्रमा निर्माण सम्पन्न गर्न नसकिएमा २/३ सय मेगावाट विद्युत् प्रवाह गर्न नसकी खेर फाल्नु पर्ने अवस्था आउन सक्ने बताए ।
‘अहिले चालू रहेको मर्स्याङ्दी भरतपुर र दमौली–भरतपुर १३२ केभी प्रसारण लाइन सिङ्गल सर्किट मात्र छन्, जसबाट करिब ८०/८० मेगावाट मात्र विद्युत् प्रवाह गर्न सकिन्छ, मार्की चोकबाट विद्युत् काठमाडौं ल्याउन त सकिन्छ तर प्रसारण लाइनको क्षमताले नथान्ने हुँदा काठमाडौंबाट हेटौंडातर्फ थप विद्युत् पठाउन पनि सकिँदैन, यसबाट भारतर्फको विद्युत् निर्यात पनि प्रभावित हुनेछ’, उनले भने ।
‘त्रिशूली करिडोरबाट माथिल्लो त्रिशूली ३ ए, रसुवागढी, साञ्जेनलगायतका जलविद्युत् आयोजनाहरूको विद्युत् काठमाडौं आउँछ, मार्कीचोक–नयाँ भरतपुर प्रसारण लाइन निर्माण सम्पन्न भएमा मात्र उक्त विद्युत्लाई भरतपुरबाट हेटौंडातर्फ र बुटवलतर्फ प्रवाह गर्न सकिन्छ, नत्र विद्युत् कतै प्रवाह गर्न नसकी ह्यागिङ हुने अवस्था आउने देखिएको छ’, उनले थपे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० चैत्र २०८०, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्युत प्राधिकरण चितवनको डिजिटल बाेर्डमा प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक शब्द– सीडीओले सोधे स्पष्टीकरण
हाम्रो कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन : विद्युत प्राधिकरण
पछिल्लो ६ महिनामा ११ अर्बभन्दा बढी नाफा गरेको प्राधिकरणको दाबी
विद्युत प्राधिकरणमा खुल्यो १०८३ जनालाई स्थायी रोजगारी
उद्योगमा तत्काल लाइन नकाट्ने प्राधिकरणको निर्णय
उद्योगमा विद्युतको लाइन जोड्ने सरकारको निर्देशनप्रति प्राधिकरणका कर्मचारीको चेतावनी