सशस्त्र प्रहरीको मुख्यालयमा भएको आगजनीमा हवल्दारकै संलग्नता

मंगलबार, ११ पुस २०७४, १६ : ००
सशस्त्र प्रहरीको मुख्यालयमा भएको आगजनीमा हवल्दारकै संलग्नता

चितवन । सशस्त्र प्रहरी मुख्यालयमा पुस ३ गते राति भएको आगलागीमा त्यहीँ कार्यरत प्रहरी हवल्दार संलग्न भएको अनुसन्धानबाट खुलेको छ । राति साढे १ बजे सशस्त्रको खेल मैदानसँगै रहेको स्टोर भएको भवनमा भएको आगलागीमा संलग्न सशस्त्रका हवल्दार रामकृष्ण श्रेष्ठ पक्राउ परेका हुन् ।

महानगरीय अपराध महाशाखाको अनुसन्धानले घटनामा श्रेष्ठको संलग्नता देखिएपछि उनलाई प्रहरी वृत, स्वयम्भूको टोलीले मंगलबार बिहान पक्राउ गरेको प्रहरी वृत, स्वयम्भूले जनाएको छ । पक्राउ परेका श्रेष्ठलाई सरकारी कागजात आगजनीमा मुद्दा लगाउने तयारी भएको छ । यसअघि विद्युत सर्ट भएर आगो लागेको ठानिए पनि प्रहरी अनुसन्धानले हवल्दार श्रेष्ठले कागजात नष्ठ गर्ने उद्देश्यले आगो लगाएको पत्ता लगाएको स्रोतको भनाई छ ।

घटनामा सशस्त्र प्रहरीको केही महत्वपूर्ण सामग्री जलेर नष्ट भएको थियो । कुनै गोप्य कागजहरु जलाउने उद्देश्यले आगलागी भएको हुन सक्ने आशंकामा अनुसन्धान थालिएको थियो ।  गृह मन्त्रालयले पनि सहसचिव कृष्ण राउतको संयोजकत्वमा आगलागीबारे छानबिन गर्न समिति गठन गरेको थियो।

प्रतिक्रिया दिनुहोस