आज हरितालिका तीज

सफल खबर संवाददाता

बुधबार, २७ भदौ २०७५, ०८ : १५
आज हरितालिका तीज

चितवन । नेपाली महिलाहरूको महान चाड हरितालिका तीज आज मनाइँदैछ । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई यो चाड मनाउने गरिन्छ ।

गएराती दरखाने र आज ब्रत बसी तीज मनाउने प्रचलन रही आएको छ । भाद्रशुक्ल द्वितीयादेखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन सप्त ऋषिको पूजा गरी सम्पन्न भएको मानिन्छ ।

भगवान शिवको आराधना गर्दै नाचगान मनोरञ्जन गरी दिदीबहिनी बोलाएर आफ्ना दुःख, सुख साट्ने महत्वपूर्ण चाड तीज नेपाली महिलाको आफ्नै मौलिक संस्कृति हो ।

पछिल्ला समयमा भने यो संस्कृति तडकभडकको प्रभावका कारण यसको वास्तविक मौलिकता हराउँदै जाने हो की भन्ने चिन्तासमेत थपिएको छ ।

तीजका नाममा पछिल्ला समयमा बढिरहेको विकृतिलाई अन्त्य नगर्ने हो भने भावी पुस्ताले तीज पर्वको वास्तविक महत्व र गरिमाका सम्बन्धमा जानकारीसमेत नपाउन सक्ने अवस्था सिर्जना हुने आशङ्का हुन थालेको छ ।

तीज पर्व दिदीबहिनीबीच सुख, दुःख साट्ने र केही दिन भए पनि गीत गाउँदै र नाच्दै आफ्ना दुःख पीडा र व्यस्तता भुल्ने पर्व हो । तीजका नाममा एक महिनादेखि तडकभडक देखाउने, अनावश्यक खर्च गर्ने प्रवृत्तिले यो विकृतिमय बन्दै गएको छ, मौलिक गीत हराउँदै उत्ताउला गीत गाउन थालिएको छ ।

प्रचलित जनविश्वास अनुसार हिमालयकी पुत्री पार्वतीले आफ्ना पति भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो ब्रत राखेकामा उक्त दिन यही हरितालिका तीजको दिन रहेको थियो ।

तीजको ब्रत बसी महिलाहरूले पतिको निमित्त निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वतीसँग प्रार्थना गर्दछन् । यस महिला बिहान सबेरै उठी नुहाइधुवाइ गरेर दिनभर जल, अन्न ग्रहण नगरी ब्रत बस्ने र साँझ पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ ।

आज बिहानैदेखि काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरलगायत देशभरमा शिवालयहरुमा महिला ब्रतालुको ठूलो भीड लागेको छ ।

यो पनि
तीज सामाजिक एकताको प्रतीक : राष्ट्रपति भण्डारी

 

 

प्रतिक्रिया दिनुहोस