रुस - युक्रेन युद्धको विरोधमा शान्ति समाजले गर्‍यो बुटवलमा प्रदर्शन

सफल खबर संवाददाता

आइतबार, २१ माघ २०८०, १५ : ५३
रुस - युक्रेन युद्धको विरोधमा शान्ति समाजले गर्‍यो बुटवलमा प्रदर्शन

बुटवल। मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा प्रदर्शन गरेको छ ।बुटवलको पुष्पलाल पार्कमा आइतवार भएको प्रदर्शनमा शान्तिवादीहरूले युद्धको विरोधमा विभिन्न प्लेकार्ड प्रदर्शन गरेका थिए ।

 

रुसलाई युक्रेनमाथिको आक्रमण बन्द गर्न, युद्धको शिलशिला अन्त्य गर्न, विभिन्न प्रलोभन दिएर रुसी सेनामा नेपालीलाई भर्ना गर्ने र युद्धमा प्रयोग गर्ने कार्य बन्द गर्न आग्रह गरिएको थियो ।यस्तै, समाजले प्रदर्शन गर्दै इजरायललाई तत्काल युद्धविराम गरी मानवताविरुद्धको अपराध बन्द गर्न र हमासलाई आतंक बन्द गरी विपिन जोशीलगायत बन्धक बनाइएका सबैलाई रिहा गर्न माग गरेको छ ।

प्रदर्शनमा युक्रेनमाथि रुसको आक्रमण मानवता विरुद्धको अपराध हो, रुसः तत्काल युद्ध रोक, रुसः मानवता विरुद्धको अपराध बन्द गर, युक्रेनी जनताको जीवन रक्षा गर, युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षा गर, रुसः तत्काल सैनिक फिर्ता गरी युद्ध रोक, इजरायलः तत्काल युद्धविराम गर, हमासः आतंक बन्द गर लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

प्रदर्शनमा शान्ति समाजका निवर्तमान केन्द्रीय सभापति गोविन्द खनालले कुनै पनि देशमा युद्ध हुनु मानव सभ्यताका लागि गम्भीर चुनौती रहेको बताएका थिए ।समाजका रुपन्देही अध्यक्ष कृष्णप्रसाद भट्टराईले युद्धले नागरिकलाई गम्भीर असर पुर्‍याउने भएकाले शान्तिको बाटो अवलम्बन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस