चितवन। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले आफ्नो लोकतान्त्रिक चरित्र गुम्न दिन नहुने बताए। कांग्रेस चितवनका नेताहरूसँग शनिबार भएको भेटघाटमा नेता महरले गठबन्धनका नाममा अहिले भइरहेको राजनीतिक अभ्यासले दलीय र लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाइरहेको टिप्पणी गरे।
‘कांग्रेस मुलुकको सबै भन्दा ठूलो लोकतान्त्रिक पार्टी हो। लोकतान्त्रिक चरित्रकै कारण मुलुक अप्ठ्यारोमा पड्दा सधैँ कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ। तर, गठबन्धनका नाममा भइरहेको राजनीतिक अभ्यासले दलीय र लोकतान्त्रिक अभ्यास कमजोर हुन्छ। यसतर्फ कांग्रेस चनाखो बन्नैपर्छ,’ महरले भने।
गठबन्धन गरिसकेपछि जनतामा आसाको ज्योति छर्न सक्नुपर्नेमा त्यो हुन नसकेको उनले बताए। गठबन्धनले जनतामा आशा भन्दा पनि निराशा बढेको उनको टिप्पणी छ।‘गठबन्धन दल होइन, यो दलहरू मिलेर बनेको अलाइन्स हो। गठबन्धनको काम र यो खालको राजनीतिक अभ्यासप्रति जनता सन्तुष्ट छैनन्। हामीले देश र जनताका लागि राजनीति गर्ने हो। त्यसैले जनभावना अनुरूप दलहरू अगाडि बढ्नुपर्छ,’ उनले भने। राम्रो काम गर्दा जनताले आफैँ बहुमत दिने र गठबन्धनको आवश्यकता नै नपर्ने महरले बताए।
कुनै विशेष परिस्थितिमा गठबन्धन गर्नुपर्ने अवस्था आउनु सामान्य भए पनि लामो समयसम्म गठबन्धनकै संस्कृति कायम राख्ने राजनीतिमा गलत संस्कारको विकास भइरहेको उनको भनाइ छ।
गठबन्धन जनताको लागि भन्दा पनि केही निश्चित नेताहरूको लाभका लागि भइरहेको महरको आरोप छ। गठबन्धन गरेर केही नेतालाई पदमा पुर्याउने र खराब कार्यमा संलग्न भइरहेकाहरूलाई बचाउन सरकार चाहिएको पो हो कि भन्ने जनताले शंका गरिरहेको तसर्थ यस्तो गठबन्धनको के काम। गठबन्धनका माध्यमबाट संवैधानिक निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न नदिने खालका काम गर्नु राम्रो होइन,’ उनले भने।
यस्ता सबैखाले घटनाक्रमलाई मध्यनजर गर्दै कांग्रेसले गठबन्धन गर्न नहुने उनले बताए। अब कांग्रेसले एक्लै चुनाव लडेर बहुमततर्फ उन्मुख हुनका लागि पार्टीलाई बलियो बनाउने बेला आएको उनको भनाइ छ। महरले कांग्रेसले लोकतान्त्रिक चरित्रको जगेर्ना गर्न आवश्यक रहेको औंल्याए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ माघ २०८०, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सात बुँदे सहमति कार्यान्वयन ढिलासुस्तीको पार्टीमा गहन समीक्षा गरौं : नैनसिंह महर
कर्मचारीले तलब र राजनीतिकर्मीले भोटका लागि काम गर्ने सोच बदल्नुपर्छ : नैनसिंह महर
विश्व विद्यालयका पदाधिकारीको नियुक्ति मेरिटोक्रेसीको आधारमै हुनुपर्छः नैनसिंह महर
‘प्रचण्ड’ भेट्न काँग्रेस नेता महर खुमलटारमा, प्रचण्डसँग के भयो कुराकानी ?
मधेसमा २० सदस्सीय मन्त्रिमण्डल बनाएकोमा नैनसिंह महरको आपत्ति
सहकारी ठगीविरुद्ध कांग्रेसले सदनसँगै सडक संघर्ष गर्नुपर्छ : नैनसिंह महर