तरकारीले फेरिदियो शाहीको जीवनस्तर

शनिबार, २३ भदौ २०७५, १३ : ५०
तरकारीले फेरिदियो शाहीको जीवनस्तर

कालीकोट  । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–६ निवासी रीश्मा शाहीको जीवन तरकारी खेतीले फेरिदिएको छ । परम्परागत अन्नबाली लगाउँदा छाक टार्नै समस्या भोग्दै आउनुभएकी शाहीले तीन वर्षयता मौसमी तथा बेमौसमी तरकारी खेतीको शुरुवात गरेपछि उहाँकोे जीवनस्तर नै फेरिएको हो ।

तिला गुफा कृषि विकास शाखा कालीकोट र सेडा नेपालद्वारा सञ्चालित विकास परियोजनामार्फत मौसमी तथा बेमौसमी तरकारीखेतीसम्बन्धी तालीमसँगै ८० प्रतिशत अनुदानमा तरकारी बालीको बीउ र कृषि औजारसमेत कृषकलाई उपलब्ध गराएको थियो । तरकारी खेती गर्दा परिवारको खर्च, छोराछोरीको पढाइ खर्च चलाएर वार्षिकरुपमा करीब रु दुई लाख बराबर आम्दानी गर्न सकेको कृषक रीश्मा शाहीले बताउनुभयो ।

उनले भन्नुभयो, ‘‘अन्नबाली लगाएपछि वर्षभरि परिवारलाई छाक टार्नै समस्या पर्छ । उहाँले अहिले पनि बन्दा, काउली, काँक्रा, खुर्सानी, गोलभेंडा, भण्टालगायतका तरकारी रोप्नुभएको छ । एक पटकमा रु ६० हजार बराबर आम्दानी गर्ने गरेको उहाँ बताउनुहुन्छ ।

प्लाष्टिक घरमा तरकारी लगाउँदा तापक्रम र पानीको मात्रासमेत मिल्ने भएकाले उत्पादन बढी हुने गरेको अनुभव उहाँसँग छ । तिलागुफा नगरपालिका–६ गाल्जेका स्थानीय कृषक तरकारी खेतीमा सक्रिय भएका छन् । अन्नबालीभन्दा तरकारी खेतीबाट राम्रो आम्दानी लिन थालेपछि यहाँका सबै कृषक तरकारी खेतीप्रति आकर्षित पाइएको छ ।

अर्का कृषक परेकबहादुर शाहीले पनि तरकारी खेतीबाटै वार्षिक रु डेढ लाख आम्दानी गर्नुहुन्छ अर्गानिक तरकारी खेती गरी मनग्य आम्दानी लिन सकिने भएपछि आफूले पनि मौसमी तथा बेमौसमी तरकारी खेतीको शुरुवात गरेको उहाँले बताउनुभयो । गाल्जेका स्थानीय कृषकले उत्पादन गरेको तरकारी गाल्जे बजार, नाग्मा बजार र जुम्ला खलङ्गा बजारसम्म पु¥याएर बिक्री वितरण गर्दै आएका छन् ।  (रासस)

प्रतिक्रिया दिनुहोस